दार्चुलाका ६ वटा सीमा नाका ७२ घण्टा बन्द गरिने

दार्चुलाका ६ वटा सीमा नाका ७२ घण्टा बन्द गरिने

 धनगढी । दार्चुला वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका दार्चुलाका आधा दर्जन नाका ७२ घन्टा बन्द गरिने भएका छन् । 

शनिवार नेपाल–भारतका अधिकारीहरुको दार्चुला सदरमुकाम खलंगामा बसेको समन्वयात्मक बैठकले सीमा नाका ७२ घण्टा बन्द गर्ने निर्णय गरेको हो । सुरक्षालाई ध्यानमा राखेर वैशाख २७ गते बेलुकी ७ बजेदेखि ३० गते बेलुकी ७ बजेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । 

जिल्लाका भारतसँग सीमा जोडिएका सीतापुल, तिगरम, खलंगा, दत्तु, जौलजीवी र लाली नाका मंगलवार बेलुकीदेखि बन्द हुने उनले बताए । निर्वाचनका बेला दुई देशको सहमतिमा सीमानाका बन्द गरिदै आएको छ । स्थानीय निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन सीमा नाका बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।