प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड धनगढीमा, को-कहाँ बसेका छन् ?

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड धनगढीमा, को-कहाँ बसेका छन् ?

धनगढी। धनगढीमा सोमबार हुने गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी आइपुगेका छन् ।

दुवै जना चढेको नेपाली सेनाको हेलिकप्टरबाट बोराडाँडीस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक बेदप्रकाश जोशीले बताए । दाङमा भएको गठबन्धनको सभामा सहभागी भएर प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड सँगै धनगढी आएका हुन् ।

प्रधानमन्त्री देउवा धनगढीस्थित आफ्नै निवासमा बसेका छन् । देउवालाई भेट्न उनको निवासमा काँग्रेसका नेता, कार्यकर्ताको भीड लागेको छ । माओवादी अध्यक्ष प्रचण्ड धनगढीको रुबस होटेलमा बसेका छन् । गठबन्धनले धनगढीमा सोमबार दिउँसो बृहद चुनावी सभाको आयोजना गरेको छ ।

त्यसअघि माओवादी अध्यक्ष प्रचण्डले कैलालीको कैलारी गाउँपालिकामा माओवादीले बिहान आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरी उत्सवले जानकारी दिए । सोमबारनै प्रचण्डले कालिकोट, कञ्चनपुर र समय मिलेमा डोटी हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवा धनगढीमा गठबन्धनको सभालाई सम्बोधन गरेपछि सोमबारनै गृहजिल्ला डडेल्धुरा जानेछन् । देउवाले डडेल्धुरामा काँग्रेसले मंगलबार गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेसले जनाएको छ । धनगढीमा गठबन्धनका तर्फबाट मेयरमा काँग्रेसका नृपबहादुर वड र उपमेयरमा माओवादीका शान्ती अधिकारी उम्मेदवार छन् । 

काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच कैलालीका १३ वटै पालिकामा गठबन्धन भएको छ । कैलारी गाउँपालिकामा भने तालमेलको सहमति विवरीत काँग्रेसबाटै अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार छन् ।