रण ब. चन्द: जो ३० वर्षदेखि निष्ठाको राजनीति गरिरहे, अवसर पाउँदा पनि व्यक्तिगत लाभ लिएनन्

रण ब. चन्द: जो ३० वर्षदेखि निष्ठाको राजनीति गरिरहे, अवसर पाउँदा पनि व्यक्तिगत लाभ लिएनन्

धनगढी । रणबहादुर चन्द, धनगढी उप-महानगरपालिकाको मेयर पदका उम्मेदवार हुन् । करिब ३० वर्षदेखि नेकपा एमालेको सक्रिय राजनीति गरेका चन्दले मेयरको टिकटका लागि खासै लबिङ गरेका थिएन तर स्थानीय स्तरका प्राय जसो सबै नेताहरूको जोड बलमा चन्दले टिकट पाए । र अहिले उनी चुनावी प्रचारप्रसारमा व्यस्त छन् । 

४३ वर्षीय चन्द वि.स.२०३६ सालको ५ वैशाखमा बैतडीको साबिक सलेना गाविसको बाकोट अहिलेको मेलौली नगरपालिका–३ मा सामान्य परिवारमा जन्मिएका हुन् । अध्ययनका क्रममा बैतडीबाट धनगढी झरेका उनले  विद्यार्थी कालदेखि नै एमालेको राजनीति सुरु गरेका थिए । मानविकी सङ्कायमा स्नातक तह सम्मको अध्ययन गरेका चन्दको राजनीतिक यात्रा धनगढीको पञ्चोदय माध्यमिक विद्यालयबाट सुरु भएको हो । 

चन्दको ३० वर्षे राजनीतिक यात्रा

उनी पहिलो पटक २०५० सालमा पञ्चोदयको विद्यालय कमिटी सदस्य भए । २०५२ सालमा कैलाली बहुमुखी क्याम्पसको प्रारम्भिक कमिटी सदस्य बनेका चन्द दुई वर्षमै २०५४ सालमा क्याम्पस कमिटीको अध्यक्ष बनेर काम गरे । अनेरास्ववीयुकै राजनीतिमा जिल्ला कमिटी सदस्य, सचिव, अध्यक्ष हुँदै केन्द्रीय सदस्यका रूपमा समेत काम गरेको अनुभव चन्दसँग छ । 

२०५८ सालमा पार्टीको धनगढी नगर कमिटी सदस्य बनेका उनले उपसचिव र सचिवका रूपमा पनि काम गरे भने लगत्तै जिल्ला कमिटी सदस्य बनेका थिए । एमालेको सातौँ जिल्ला अधिवेशनबाट चन्द कैलाली जिल्ला कमिटी सचिवमा विजयी भएर करिब ७ वर्षसम्म कुशलता पूर्वक जिम्मेवारी निभाए । 

माओवादी केन्द्र र एमाले पार्टी एकीकरण भएर बनेको नेकपामा पनि उनले सचिवकै जिम्मेवारी पाए । नेकपा कालमा पार्टीको केन्द्रीय सदस्य र जिल्ला कमिटी उपाध्यक्षका रूपमा काम गरेको अनुभव पनि उनीसँग छ । तर गत पुसमा सम्पन्न भएको एमालेको जिल्ला अधिवेशनमा भने चन्द अध्यक्षमा ४ मतले पराजित भएका थिए । एमालेको ३० वर्षे राजनीतिमा निष्कलङ्क पात्रको छवि बनाएका उनले विभिन्न सङ्घसंस्थामा आबद्ध भएर पनि काम गरिसकेका छन् । कैलालीको राजनीतिक वृत्तमा चन्दले शालीन, भद्र, इमानदार र निश्कलंकीत नेताको छवि बनाएका छन् ।

सामाजिक सङ्घसंस्थाको आबद्धता

हालसम्म कुनै लाभको पदमा नबसेका चन्द २०६३ देखि २०६८ सालसम्म तत्कालीन धनगढी नगरपालिकाको राजनीतिक संयन्त्रमा बसेर काम गरेका थिए । २०६८ सालपछि करिब दुई वर्ष पार्टीको तर्फबाट जिल्ला विकास समितिमा पनि राजनीतिक संयन्त्रमा बसेका थिए । 

नेपाल रेडक्रस सोसाइटी, कैलाली जनपुस्तकालय, नवजीवन सहरकारी, नेत्र ज्योति सङ्घ जस्ता दर्जन बढी सङ्घसंस्थामा पनि काम गरेको अनुभव चन्दको छ । यी सङ्घसंस्थामा काम गर्ने दौरानमा समेत उनी कहिल्यै पनि विवादमा आएनन् । चन्दले छिमेकी भारत र चीनको औपचारिक भ्रमण पनि गरिसकेका छन् ।  

स्वच्छ र इमानदार छवि भएकै कारण चन्दलाई नेकपा एमालेले धनगढी उपमहानगरपालिकाको मेयर पदमा टिकट दिएको नेताहरू बताउँछन् । अहिले नेकपा एमाले पार्टीभित्रको आन्तरिक एकता बलियो हुनु, धनगढीमै ३० वर्षे राजनीतिक विरासत हुनु, व्यक्तिगत मत राम्रो हुनु, उपमेयरकी उम्मेदवार कन्दकला रानाका कारण राना थारु समुदायको मत तान्नु, क्षेत्रगत मतमा बलियो पकड हुनु जस्ता कुरा चन्दको अनुकुुल मानिएका छन् । उनले असफल भइसकेका र राजनीतिक धरातल नभएका उम्मेदवारको विकल्प आफू भएको भन्दै मत मागिरहेका छन् ।