श्रीलंकामा सुरक्षाकर्मीलाई प्रदर्शनकारीमाथि गोली हान्ने आदेश

श्रीलंकामा सुरक्षाकर्मीलाई प्रदर्शनकारीमाथि गोली हान्ने आदेश


श्रीलंकामा सुरक्षाकर्मीलाई प्रदर्शनकारीमाथि गोली हान्ने आदेश दिइएको छ। 

त्यहाँको रक्षामन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक सम्पत्तिमा नोक्सान पुर्‍याउने वा कसैको ज्यानका लागि खतरा बन्ने व्यक्तिलाई देख्ने वित्तिकै गोली हान्ने आदेश दिइएको जनाएको हो। अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा विरोध प्रदर्शन हिंस्रक बन्दै गएको छ। 

रक्षा मन्त्रालयका प्रवक्ता नलिन हेरथका अनुसार सार्वजनिक सम्पत्ति लुट्ने वा नोक्सान पु¥याउने व्यक्तिलाई देख्ने वित्तिकै गोली हान्न सुरक्षाकर्मीलाई आदेश दिइएको हो। प्रदर्शनकारीले सत्तारुढ दलका नेताहरुको घरलाई निशाना बनाउँदै आगजनी गरिरहेका छन्। राष्ट्रपतिको आधिकारिक आवास क्षेत्र वरपरका घरमा पनि आगजनी गरिएपछि ठूलो संख्यामा प्रहरी र सेनाको आपतकालीन शक्ति तैनाथ गरिएको छ। 

आर्थिक संकटले श्रीलंकामा इन्धन, खानेकुरा, औषधीलगायतका आधारभूत वस्तुको चरम अभाव छ। जसका कारण विगत एक महिनाभन्दा अघिदेखि श्रीलंकाली नागरिक राजपाक्षे परिवारविरुद्ध कोलम्बोका सडकमा प्रदर्शन गरिरहेका छन्। 

प्रदर्शनकारीले भयानक आर्थिक संकटका लागि जिम्मेबार रहेको भन्दै राष्ट्रपति गोटबाया राजपाक्षेले राजीनामा दिनुपर्ने माग गरेका छन्। तर सोमबार उनका भाइ प्रधानमन्त्री महिन्दा राजपाक्षेले पदबाट राजीनामा दिए पनि प्रदर्शन शान्त हुन सकेको छैन्।

प्रहरीकाअनुसार अहिलेसम्म प्रदर्शनका कारण आठ जनाको मृत्यु भएको छ भने २ सय भन्दा बढी घाइते भएका छन्।