धनगढीमा एक सहायक मतदान अधिकृत कांग्रेसको प्रचारमा गएको अवस्थामा पक्राउ

धनगढीमा एक सहायक मतदान अधिकृत कांग्रेसको प्रचारमा गएको अवस्थामा पक्राउ

धनगढी । कैलालीको धनगढीमा स्थानीय तह निर्वाचनका लागि खटिएका कर्मचारी खुलेआम प्रचारप्रसारमा भेटिएका छन्। बिहीबार धनगढी उप-महानगरपालिका वडा नम्बर ९ मा खटाइएका एक सहायक मतदान अधिकृत प्रचारमा संलग्न भेटिएका हुन्।

धनगढी ९ को (बुथ ख) भवानी माध्यमिक विद्यालय अन्तरगतको मतदान केन्द्रमा खटाइएका मतदान सहायक अधिकृत दिपक सुनार प्रचारमा गएका बेला फेला परेका हुन्। सुनार गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार नृपबहादुर वडको प्रचारमा गएका थिए। निर्वाचन आचारसंहिताको उलंघन गर्दै मौन अवधिमै उनी प्रचारप्रसारमा सहभागी बनेका थिए। प्रचारकै क्रममा उनलाई स्थानीयले घेरा हालेर प्रहरीलाई बुझाएका थिए। 

अहिले मतदान सहायक अधिकृत सुनारलाई प्रहरीले मतदान केन्द्रमा बस्न नमिल्ने गरि पक्राउ गरेको छ। यस्तै कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले सुनारले कुनै एक उम्मेदवारको पक्षमा मत मागेको पुष्टि गर्दै उनलाई जिम्मेवारीमुक्त गरिएको बताए।

त्यस्तै जिल्लाको घोडाघोडीमा पनि निर्वाचनमा खटिएका एक मतदान अधिकृतलाई पनि आचारसंहिता उल्लघन गरेको भन्दै जिम्मेवारीमुक्त गरेको उनले बताए।