मतदानस्थलको भिडन्त भन्दै टेलिश्रृंखलाको तस्बिर भाइरल

मतदानस्थलको भिडन्त भन्दै टेलिश्रृंखलाको तस्बिर भाइरल

काठमाडौं । स्थानीय निर्वाचनका लागि देशभर मतदान जारी रहँदा विभिन्न स्थानमा विवाद र मुठभेड भएका समाचारहरू पनि आइरहेका छन् । यसलाई लिएर सामाजिक सञ्जालमा कतिपय भ्रामक पोस्टहरू भाइरल भइरहेका पाइएको छ ।

नेपाल टेलिभिजनकी पूर्व समाचारबाचिका रमा सिंहले ‘कोभन्दा को कम…काभ्रे’ भन्दै आज एउटा तस्बिर फेसबुकमा सेयर गरिन् । उक्त तस्बिरमा सारी लगाएकी एक महिलाले पुरुषलाई जोडदार रूपमा फ्लाइङ किक हानेको देखिन्छ । रमा सिंहको यो पोष्टलाई १२६ जनाले सेयर गरेका छन् । सबैले यसलाई सत्य घटना ठानेर पत्याएका पनि छन् ।

चर्चित फेसबुक ग्रुप ‘राजसंस्था पुनर्स्थापना संघर्ष समिति’ मा पुकार अर्याल नाम गरेका व्यक्तिले पनि ‘दोलखाको मतदानस्थलमा कांग्रेस भर्सेस माओवादी’ भन्दै यही तस्बिर सेयर गरेका छन् ।

तर, यो तस्बिरमा देखिएको दृश्य कुनै मतगणना स्थलको होइन । न त वास्तविक नै हो । खासमा ‘उकुसमुकुस’ नामक टेलिशृंखलाको ११ औँ भागबाट यो स्क्रिन सट लिइएको हो ।

माग्ने बुढाको युट्युब च्यानल आमा अग्नि कुमारीबाट प्रशारण हुने गरेको यो सिरियल केही समयदेखि बन्द छ । पछिल्लो एपिसोड जनवरी २९ मा प्रशारण भएको थियो । उक्त एपिसोडले ५४ लाख भन्दा बढी भ्युज पाएको थियो । त्यसैको एक दृश्य स्क्रिन सट गरिएको हो ।

तस्बिरमा किक हान्ने साहसी भनिएकी महिला वेदना राई र कुटाई खाने व्यक्ति दीपेन्द्र प्रसाईँ हुन् । -नेपाल प्रेसबाट