बैतडीका १० मध्ये ८ पालिकाको मतगणना सकियो, कहाँ को भए विजयी ?

बैतडीका १० मध्ये ८ पालिकाको मतगणना सकियो, कहाँ को भए विजयी ?

बैतडी । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत बैतडीका १० मध्ये ८ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जिल्लाका २ पालिका पुर्चौंडी नगरपालिका र दोगडाकेदार गाउँपालिकामा मतगणना कार्य जारी रहेको छ । 

मतपरिणाम सार्वजनिक भएका पालिकामध्ये प्रमुख पदमा एमालेले तीन, नेपाली कांग्रेसले तीन, माओवादी केन्द्रले एक र स्वतन्त्रले एक ठाउँमा जित हात पारेको छ । 

नेपाली कांग्रेसले पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र सिगास गाउँपालिकामा प्रमुख पदमा जित हात पारेको छ । भने एमालेले दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकामा जित हात पारेको छ । यस्तै माओवादी केन्द्रले मेलौलीमा र स्वतन्त्रले डिलाशैनीमा जित हात पारेको छ । 

जिल्लाको पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका गोरखबहादुर चन्द र उपाध्यक्षमा एमालेकै बीना भट्ट विजयी भएका छन् । दशरथचन्द नगरपालिकाको प्रमुखमा एमालेका पुष्करराज जोशी (लख्खाभाइ) र उपमेयरमा कांग्रेसका कौशिला चन्द विजयी भएका छन् । सुर्नया गाउँपालिकाको अध्यक्षमा एमालेका अम्मरबहादुर कुँवर र उपाध्यक्षमा नेपाली कांग्रेसका मञ्जु बोहरा विजयी भएका छन् । 

यस्तै शिवनाथ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कर्णसिंह साउँद र उपाध्यक्षमा एमालेका शकुन्तला साउँद विजयी भएका छन् । पाटन नगरपालिकाको प्रमुखमा कांग्रेसका गौरीसिंह रावल र उपप्रमुखमा माओवादी केन्द्रका कमलसिंह बोहरा विजयी भएका छन् । सिगासमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिसिंह धामी र उपाध्यक्षमा एमालेका धाना धामी विजयी भएका छन् । 

त्यस्तै, मेलौली नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द (भुकम्प) र उपप्रमुखमा नेपाली कांग्रेसका पार्वती बोहरा बिष्ट विजयी भएका छन् । 

यस्तै, डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रका सन्तोशप्रकाश जोशी र उपाध्यक्षमा कांग्रेसका भगीरथ बोहरा विजयी भएका छन् ।