अहिलेसम्म नतिजा सार्वजनिक भएका कैलालीका २ पालिकामा एमाले विजयी

अहिलेसम्म नतिजा सार्वजनिक भएका कैलालीका २ पालिकामा एमाले विजयी

धनगढी । कैलालीका २ वटा स्थानीय तहमा मतगणना सम्पन्न भएको छ। जिल्लाका १३ स्थानीय तहमध्ये २ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो। अहिलेसम्म नतिजा सार्वजनिक भएका स्थानीय तहहरुको प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। 

कैलालीको बर्दगोरिया र चुरे गाउँपालिकाको अध्यक्षमा एमाले विजयी भएको हो। बर्दगोरियाको अध्यक्षमा एमालेका कर्णबहादुर कुँवर विजयी भएका हुन् भने चुरेमा चक्रबहादुर बोगटी विजयी भएका छन्। बर्दगोरिया एमालेका कुँवरले ५ हजार ८४२ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्दी गठबन्धनका साझा उम्मेदवार कांग्रेसका शेरबहादुर कठरियाले ४ हजार १८६ मत ल्याएका छन्।

यस्तै चुरेमा बोगटीले तीन हजार ३०५ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका लोकबहादुर सारुमगरले तीन हजार २८१ मत ल्याएका छन्।

यस्तै बर्दगोरियाको उपाध्यक्षमा भने गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका गणेशराज गिरी विजयी भएका छन्। गिरीले ४ हजार ५६९ मत ल्याउँदा उनका प्रतिद्धन्द्धी नेकपा एमालेकी इन्दु कठरीयाले ४ हजार २५५ मत मत ल्याइन्।

उता चुरेको उपाध्यक्षमा पनि गठबन्धनतर्फबाट नेपाली कांग्रेसकी धना थापा निर्वाचित भएकी छन्। थापाले तीन हजार ४४९ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी एमालेकी दीपादेवी साउदले तीन हजार १२१ मत पाएकी छन्।