कैलालीको घोडाघोडीका नगरप्रमुख रावतद्वारा पदभार ग्रहण

कैलालीको घोडाघोडीका नगरप्रमुख रावतद्वारा पदभार ग्रहण

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाको नवनिर्वाचित नगरप्रमुख खडक बहादुर रावतले पदभार सम्हालेका छन् । सोमबार जिल्ला अदालत कैलालीमा मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूबाट पद तथा गोपनीयताको शपथ लिएपछि घोडाघोडी नगरपालिकाको कार्यकक्षमा पुगेर पदभार सम्हालेका हुन् ।

उनी नगरपालिका पुग्दा कर्मचारीहरूले भव्य स्वागत गरेका थिए । रावतले आर्थिक वर्ष भित्रै भूमिहीन सुकुम्वासी, भूमिहीन दलितहरूलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने प्रस्ताव सदर गर्दै पदभार सम्हालेका छन् ।

खडक बहादुर रावत समक्ष प्रमुख प्रशासकीय दीपक कुमार आचार्यले पेस गरेको प्रस्तावमा अगामी आर्थिक वर्ष २०७८/७९ देखी लागु हुने गरी भूमि सम्बन्धी समस्या समाधान आयोग, लागत सङ्कलन इकाईबाट भुमिहिन,दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीहरुको लागत सङ्कलन गर्ने कार्य सम्पन्न भई तथ्याङ्क प्रविष्ट कार्य भई रहेकाले उक्त कार्यलाई तोकिएको समयमै सम्पन्न गर्ने गरी आवश्यक कार्य अगाडि बढाइने जनाइएको छ  ।

गठबन्धनकाका सहयात्री दल, समाजसेवी, बुद्धिजीवी, प्राज्ञिक व्यत्तित्वहरु सँग सर सल्लाह,समन्वय,सहकार्य गरेर समृद्ध घोडाघोडी नगरपालिका अगाडि बनाउनको लागी आफूहरूले प्रयत्न गर्ने खडक बहादुर रावतले बताएका छन् । जनताले गठबन्धनका उम्मेदवारलाई नगरपालिकाको बागडोर समाल्ने जिम्मा दिएको हुँदा इमान्दारीता पूर्वक जनताको सेवा गर्ने उनको भनाई छ ।