प्रदेश ७ को नामाकरण र राजधानी सम्बन्धमा बनेको समितिमा नसमेटेको भन्दै राजपाको आपत्ति

प्रदेश ७ को नामाकरण र राजधानी सम्बन्धमा बनेको समितिमा नसमेटेको भन्दै राजपाको आपत्ति

धनगढीः प्रदेश ७ को स्थायी राजधानी र नामाकरणकाबारे सुझाव संकलन गर्न गठित समितिमा समान प्रतिनिधित्व हुन नसकेको भन्दै राजपाले आपत्ति जनाएको छ। बुधवार बसेको प्रदेश सभा बैठकको विशेष समयमा भाग लिँदै राजपा सांसदहरूले सो आपत्ति जनाएको हो।

राजपा सांसद मालामती रानाले प्रदेशको नामाकरण र स्थायी राजधानी गठन गर्न बनेको विशेष समितिमा राजपाको नाम समेत प्रस्तावित नगरिएको प्रति आक्रोश पोखिन्। गएको सोमबार बसेको प्रदेश सभा बैठकमा सभामुख अर्जुन थापाले प्रदेशको नामाकारण र स्थायी नामांकरणबारे सुझाव संकलन गरी प्रतिवेदन पेस गर्न पाँच सदस्य विशेष समिति गठन भएको जानकारी दिएका थिए।

नेकपा का प्रमुख सचेतक तारालामा तामाङको संयोजकत्वमा उक्त समिति गठन भएको थियो। सो समितिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट एक जना र सत्ता पक्षका चार जना रहेका छन्। तीन दलको प्रतिनिधित्व रहेको प्रदेश ७ को प्रदेश सभामा राजपाबाट दुईजनाको प्रतिनिधित्व रहेको छ। तर सो समितिमा राजपालाई समावेश नगराएपछि सांसद मालामती रानाले आपत्ति जनाएकी हुन्।

उनले दुर्ई तिहाइको दम्भमा संघीयता सिध्याउने खेलमा सरकार उन्मुख भएको बताइन्। राजपाको अनुपस्थितिमा प्रदेशको नामाकरण र राजधानी तोके स्वीकार गर्न नसकिने उनले बताइन। राजपाको अनुपस्थितिमा प्रदेशको नामाकरण र राजधानी तोकिए त्यसको विरुद्धमा जनतामाझ जाने चेतावनी समेत उनले दिइन्।

पार्टीको समावेशिताका आधारमा विशेष समिति गठन नगरेर राजपालाई अपमानित गरेको उनको भनाई छ। राजपाले धनगढीलाई राजधानी बनाउनु पर्छ भनेर आन्दोलन नगरेको उल्लेख गर्दै सांसद रानाले आफ्नो आन्दोलन अधिकारका लागि भएको बताइन्। उनले सबैले अपनत्व हुने गरी प्रदेशको राजधानी र नामाकरण गरिनु पर्ने धारणा राखिन्।