मधेसमा बलियो बन्यो एमाले

मधेसमा बलियो बन्यो एमाले

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा मधेसमा राम्रो सफलता पाएको छ । गत स्थानीय तहको चुनावमा २० पालिका जितेको एमालेले वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म २९ वटा पालिका जितिसकेको छ । पार्टी विभाजन र सत्तारुढ गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्नुका बाबजुद एमालेले यतिका सङ्ख्यामा पालिका जित्नु सामान्य विषय होइन ।  आफूलाई मधेसको शक्तिशाली राजनीतिक दल भनेर दाबी गर्दै आएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालभन्दा पनि बढी सिट ल्याउन एमाले सफल भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको हालसम्मको नतिजा अनुसार जसपाले मधेसमा २४ र लोसपाले १४ वटा पालिकामात्र जित्न सकेका छन् । जबकि एमालेले हालसम्म २९ वटा पालिकाको नेतृत्व हात पारिसकेको छ । यता, मधेसमा माओवादी केन्द्रभन्दा एमाले धेरै अगाडि छ । माओवादी केन्द्रले हालसम्म नौवटा पालिका मात्र जित्न सकेको छ ।  मधेस आन्दोलनको केन्द्रभूमि सिरहामै एमालेले सबैभन्दा बढी पालिका जितेको छ । सिरहा जसपाको गढ मानिन्छ । तर एमालेले सिरहामा जसपालाई उछिनेको छ । जसपाले सिरहाका चारवटा पालिका जित्दा एमालेले ६ वटा नगरपालिका प्रमुख र ३ वटा गाउँपालिका अध्यक्ष पद हात पारेको छ । लोसपाले सिरहामा वडा सदस्यसमेत जितेको छैन । एमालेको सप्तरीमा एक प्रमुख र दुई अध्यक्ष, धनुषामा दुई प्रमुख र एक अध्यक्ष तथा महोत्तरी, सर्लाही, बारा र पर्सामा एक–एक प्रमुख हात पारेको छ ।