टीकापुर अस्पतालमा क्षयरोगका बिरामी निदान गर्ने ‘जिन एक्सपर्ट मेसिन’ बिग्रिँदा बिरामीलाई समस्या

टीकापुर अस्पतालमा क्षयरोगका बिरामी निदान गर्ने ‘जिन एक्सपर्ट मेसिन’ बिग्रिँदा बिरामीलाई  समस्या

कैलाली । टीकापुर अस्पतालमा क्षयरोगका बिरामी निदान गर्ने ‘जिन एक्सपर्ट मेसिन’ बिग्रिँदा बिरामीलाई  समस्या परेको छ। अस्पतालमा हाल क्षयरोगको शङ्का लागेका बिरामीको खकार परीक्षणमात्रै हुने गरेको छ। चिकित्सकका अनुसार खकार परीक्षण गर्दा औषधि प्रतिरोधी क्षयरोग भएका बिरामी निदानमा समस्या हुने भएकाले जिन एक्सपर्ट गर्नुपर्ने हुन्छ।
 
मेसिन बिग्रिएपछि क्षयरोग शङ्का लागेको बिरामीलाई अस्पतालले धनगढी वा नेपालगञ्ज पठाउने गरेको टीकापुर अस्पतालका क्षय कुष्ठरोग सहायक रामप्रसाद ज्ञवालीले बताए। ‘‘मेसिन बिग्रिएको छ। मेसिन मर्मतका लागि मानिस बोलाएका छौँ, तर अझै भएको छैन’’, उनले भने, ‘‘यसका साथै यहाँ छाती रोग विशेषज्ञ नभएका कारण पनि क्षयरोगका केही बिरामीलाई उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता छ।’’

क्षय कुष्ठरोग सहायक ज्ञवाली मेसिन बिग्रिएका कारण उपचारमा आउने ५० प्रतिशत बिरामीले रोग निदानका लागि टीकापुर बाहिर जानुपरेको बताए। औषधि प्रतिरोधी क्षयरोग भएका बिरामीको यहाँ उपचार त हुन्छ तर निदानमै समस्या छ। टीकापुरमा गत वर्ष ११९ जना क्षयरोगका बिरामी उपचारमा आएका थिए। चालु आर्थिक वर्षको फागुन महिनासम्म ११४ जना उपचार गरिरहेका छन्।