कानुनी प्रक्रियाभन्दा बाहिर गएर विपरित टिप्पणी लेखेकोमा कञ्चनपुर अदालतका निमित्त श्रेस्तेदारलाई कारबाही गर्न नेपाल बारको माग

कानुनी प्रक्रियाभन्दा बाहिर गएर विपरित टिप्पणी लेखेकोमा कञ्चनपुर अदालतका निमित्त श्रेस्तेदारलाई कारबाही गर्न नेपाल बारको माग

धनगढी ।
कानुनी प्रक्रियाभन्दा बाहिर गएर विपरित टिप्पणी लेखेकोमा कञ्चनपुर अदालतका श्रेस्तेदारलाई कारबाही गर्न नेपाल बारले माग गरेको छ  ।

नेपाल बार एशोसिएसनले कञ्चनपुर जिल्ला अदालतका तहसिलदार निमित्त श्रेस्तेदार ले अदालतले गरेको आदेशमा कानुनी प्रक्रियाभन्दा बाहिर गएर असान्दर्भिक र पेशागत मर्यादाको आक्रमण गर्दै टिप्पणी लेखेकोमा निन्दा र भर्त्सना गरेको हो ।

नेपाल बारका महासचिव अन्जिता खनालले प्रेस विज्ञप्ति जारी गर्दै सेवाग्राहीले अदालतमा प्रस्तुत गरेको मागदावी निवेदन उपर प्रक्रिया पुरा गर्नुपर्ने कानूनी दायित्व भएका अदालतका तहसिलदारनिमित्त श्रेस्तेदार ले २०७१।०१।१९ को आदेशमा कानूनले तोकेको दायित्व र कानूनी प्रक्रियाभन्दा बाहिर गएर टिप्पणी लेखेको प्रति नेपाल बार एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। 

‘अनावश्यक रुपमा कानूनले तोकेको कर्तव्य, अधिकार क्षेत्रभन्दा बाहिर गएर दम्भ र आवेगमा सर्वपक्षीय रुपमा खण्डन हुने र अपाच्य हुने गरी आदेश टिप्पणी लेखेको विषय प्रति नेपाल बार एशोसिएशनको गम्भिर ध्यानाकर्षण भएको छ’, नेपाल बारको विज्ञप्तिमा भनिएको छ। बारले निमित्त श्रेस्तेदारबाट भएको उक्त आदेश अदालतको जनआस्थामा आँच आउने गरी भएको ठहर गर्दै उनलाई कानूनी कारवाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ।