कृषि सामग्री कम्पनीले मलको आपूर्ति गर्न नसकेपछि धनगढीका सहकारी मल लिन भैरहवा

कृषि सामग्री कम्पनीले मलको आपूर्ति गर्न नसकेपछि धनगढीका सहकारी मल लिन भैरहवा

रासायनिक मलको आपूर्ति र बिक्रीवितरण गर्दै आएको कृषि सामग्री कम्पनीको कार्यालय र गोदाम धनगढीमै छ । तर, कृषि सामग्री कम्पनीबाट किसानसम्म मल पु¥याउने यहाँका कृषि सहकारीहरू भने मल खोज्दै भैरहवासम्म पुग्नु परिरहेको छ । कम्पनीको प्रादेशिक कार्यालय धनगढीले सुदूरपश्चिम प्रदेशका लागि तोकिएको कोटाको मल भैरहवाबाट ढुवानी गरेर नल्याउँदा यस्तो अवस्था आएको हो ।

धनगढीस्थित राष्ट्रसेवक सहकारी संस्थाले हालै कम्पनीको भैरहवास्थित गोदामबाट ४२ क्विन्टल डीएपी मल आफैं सवारीसाधनको व्यवस्था गरी ल्याएको छ ।

‘सुदूरपश्चिमका लागि छुट्याइएको २ हजार १ सय ६९ मेट्रिक टन डीएपी मल भैरहवा गोदाममा रहेछ,’ सहकारीका अध्यक्ष लोकराज पनेरुले भने, ‘तर ढुवानी गर्ने ठेकेदारको अटेरीका कारण कम्पनीले तत्काल ढुवानी गर्न नसक्ने जनायो । त्यसपछि के गर्ने रु किसानलाई मल चाहिएको छ । सहकारीहरू आफैं ढुवानी गर्न मञ्जुर भयौं ।’

सहकारीले भैरहवाबाट ढुवानी गरेर बिक्री गर्दा किसानलाई प्रतिक्विन्टल थप ३ सय रुपैयाँ महँगो पर्न गएको छ । पनेरुका अनुसार कम्पनीको धनगढी गोदामबाट सहकारीले डीएपी प्रतिक्विन्टल ४ हजार ६ सयमा रुपैयाँमा पाउँथे । ढुवानी भाडा जोडेर किसानले ५ हजार रुपैयाँसम्ममा पाउँथे । अहिले सहकारी आफैंले भैरहवाबाट ल्याउँदा प्रतिक्विन्टल ५ हजार ३ सय रुपैयाँमा मल बिक्री गर्नु परिरहेको उनले बताए ।

कम्पनीको धनगढी कार्यालय प्रमुख नवलसिंह बोगटीले ठेकेदारले सम्झौता भएजतिको परिणामको मल पहिल्यै ढुवानी गरिसकेकाले अहिले थप ढुवानी गर्न नमानेको बताए ।

ठेकेदारले इन्धनको मूल्य बढेका कारण पुरानो सम्झौताअनुसार थप ढुवानी गर्न अस्वीकार गरेको उनले बताए । केन्द्रीय कार्यालयले ढुवानीको अर्को व्यवस्था नगर्दासम्म कम्पनीको भैरहवा गोदामबाट मल ल्याउन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

धनगढी कार्यालयले प्रदेशको कोटाको मल ढुवानी गरेर ल्याउन चाहेका सहकारी संस्थालाई उपलब्ध गराई दिन भैरहवा कार्यालयका नाममा पत्र काटेर दिने गरेको छ ।

सुदूरपश्चिमको कोटामा परेको २ हजार १ सय ६९ मेट्रिक टन डीएपीमध्ये कैलालीलाई १ हजार ३ सय मेट्रिक टन, कञ्चनपुरलाई ६ सय मेट्रिक टन र बाँकी मल अछाम, बझाङ, बाजुरा, बैतडी, दार्चुला र डडेलधुरालाई छुट्याइएको कार्यालय प्रमुख बोगटीले बताए ।

उनका अनुसार वैशाखमा नेपाल भित्रिएको २० हजार मेट्रिक टन डीएपीमध्ये सुदूरपश्चिमका लागि छुट्याइएको उक्त परिमाणको मल भैरहवामा भण्डारण गरिएको थियो ।

प्रदेशभर धान रोपाइँ गर्न डीएपी १० हजार मेट्रिक टन र युरिया १५ हजार मेट्रिक टन आवश्यक रहेको उनले बताए । तर, मागअनुसारको मल आउने कुरामा उनी आफैं विश्वस्त छैनन् ।

स्टोरकिपर रूपक कुँवरले वैशाखदेखि नै गोदाम रित्तो रहेकाले किसानले धानको बीउ राख्नसमेत मल नपाएको बताए । सुदूरपश्चिमकै अन्न भण्डार हुन् कैलाली र कञ्चनपुर । जहिल्यै खेतीपाती लगाउने बेला मल नपाउने यहाँका किसानको गुनासो रहँदै आएको छ ।

सरकारले मल उपलब्ध गराउन नसक्दा भारतसँग सीमा जोडिएका यी दुवै जिल्लाका किसान अवैध रूपमा सीमापारिबाट कमसल मल ल्याएर प्रयोग गर्न बाध्य छन् ।

यसले माटोको उर्वरा शक्ति घटाई उत्पादकत्वमा कमी आउँदै गएको छ । अहिले भारतबाट समेत मल ल्याउन नसकेको भजनीका एक किसानले गुनासो गरे ।