यस्तो छ सुदूरपश्चिम प्रदेशको पाँचौं नीति तथा कार्यक्रम के-के दोहोरीए, के थपिए ?

यस्तो छ सुदूरपश्चिम प्रदेशको पाँचौं नीति तथा कार्यक्रम के-के दोहोरीए, के थपिए ?

धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलो पाँच वर्षे कार्यकालको अन्तिम नीति तथा कार्यक्रम प्रदेशसभामा पेश भएको छ । प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७९-८० को नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले आइतबार प्रदेश सभामा पेश गरेका हुन् । नीति तथा कार्यक्रममा प्रदेश सरकारले पुरानो कार्यक्रमलाई नै प्राथमिकतामा राखेर प्रस्तुत गरिएको छ । विगतका वर्षमा सरकारले ल्याएका अधिकांश कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटिएको छ । 

सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम अनुसार अघिल्लो आर्थिक वर्षमा अघिल्ला योजनालाई प्राथमिकतामा राख्दै प्राविधिक शिक्षा, नमूना कृषि गाउँ आफैँ बनाऔँ, किसान हुनुमा मलाई गर्व छ, मुख्यमन्त्री एकीकृत बस्ती विकास, म हिँड्छु मेरो प्रदेश हिँड्छ, एक विद्यालय, एक नर्स, खोज अनुसन्धान, दिगो वन व्यवस्थापन, प्रदेश गौरवका आयोजना लगायतका कार्यक्रमलाई अघि सारेको छ । 

आगामी वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषिलाई प्राथमिकता राख्दै साना तथा गरिब किसानलाई ऋण र व्यावसायिक किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको छ । भूमिहीन र व्यावसायिक किसानलाई कृषि पेशामा सहयोग गर्न भूमि बैङ्क स्थापना गर्ने, विद्युतीय अभिलेख तयार गरी प्रादेशिक भू–सूचना प्रणाली विकास गरिने , प्रत्येक स्थानीय तहमा बीउ स्रोत केन्द्र, चिस्यान केन्द्र र मूल्य शृङ्खलामा आधारित कृषि व्यवसायको विकास गर्दै रोजगारी सिर्जना गने नीति लिइएको छ ।

जलविद्युत आयोजनालाई प्रदेश सरकारले आफैँ वा साझेदारीमा सञ्चालन गर्ने नीति अवलम्बन गर्ने नीति लिएको छ ।  जडीबुटी प्रशोधन कम्पनी स्थापना गरी रोजगारी सृजना गर्ने, वनमा आधारित उद्योग स्थापना गर्ने, खप्डकलाई आध्यात्मिक र कञ्चनपुरको लालझाडी गाउँपालिकालाई रानाथारु संस्कृति पर्यटनका रूपमा चिनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

सुदूरपश्चिमको खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश खेलकुद नीति लागू गरिने जनाइएको छ । कैलालीको सेती प्रादेशिक र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डाइलासिस सेवा विस्तार गर्ने, सुदूरपश्चिममा ५० शय्याको आयुर्वेदिक प्रादेशिक अस्पताल सञ्चालन गरिने नीति लिएको छ । 

प्रादेशिक प्राविधिक विश्व विद्यालय स्थापना, १५० सामुदायिक विद्यालयको स्तरोन्नति लगायतका कार्यक्रमलाई पनि सो नीति तथा कार्यक्रममा समेटिएको छ । कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्मको राजमार्गलाई ४ लेनमा विस्तार गरिने सञ्चारग्राम स्थापना गरिने सुदूरपश्चिमको स्थायी राजधानी निर्माणका लागि जग्गाको भोगाधिकारका लागि आवश्यक पहल गर्ने भनिएको छ ।

सुदूरपश्चिममा उद्योग स्थापनाका लागि लगानी कर्तालाई आकर्षित गर्न सरकारसँग कर मिनाहाका लागि आग्रह गरिने जनाइएको छ । सुदूरपश्चिममा रहेका पर्यटकीय स्थलमा पदमार्ग निर्माण, सडक, बिजुली जस्ता आधारभूत आवश्यकताका लागि विशेष नीति लिएको छ । अधिकांश पुराना ठूला कार्यक्रमलाई निरन्तरता दिएको प्रदेश सरकारले सिँचाइ, जल यातायात, जलविद्युत र मनोरञ्जनमा प्रदेशभित्रका जलस्रोतहरू प्रयोग गर्ने नीति लिएको छ।

प्रदेश सरकारले हरित, प्रदूषणमुक्त र वन्यजन्तुको सुरक्षित कोरिडोरसहितको स्थापनाका लागि पूर्वाधार निर्माण गर्न समग्र अध्ययन तथा सर्वेक्षण गरी गुरुयोजना सहितको पूर्वाधार निर्माण गर्ने कार्यक्रम पनि प्राथमिकताका साथ ल्याएको जनाएको छ ।  टुहुरा, असहाय बालबालिकाका लागि प्रदेश सरकारले शिशु स्याहार केन्द्र स्थापना गर्ने जनाएको छ ।