भाटभटेनी संगको सहकार्यमा धनगढीमा निःशुल्क स्वास्थ्य सेवा सञ्चालन हुने

भाटभटेनी संगको सहकार्यमा धनगढीमा निःशुल्क स्वास्थ्य सेवा सञ्चालन हुने

धनगढी ।  धनगढी उपमहानगरपालिकाका प्रत्येक वडामा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य सेवा सञ्चालन हुने भएको छ। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललका अनुसार आगामी आर्थिक वर्ष २०७९÷८० को सुरुवातदेखि प्रत्येक वडामा स्वास्थ्य सेवा सञ्चालन हुने भएको हो।


उपमहानगरपालिकाको स्वास्थ्य शाखाले मासिक पात्रो बनाएर उपमहानगरपालिकाको १९ वटै वडामा महिनाको एक दिन चिकित्सकसहितको स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। त्यसका लागि उपनहानगरपालिकाको उपकरण, औषधि, यातायातका साधन हुनेछन् भने विशेषज्ञ चिकित्सकलाई करारमा भर्ना गर्न धनगढीमा सञ्चालन हुने भाटभटेनी सुपर मार्केटले रकम प्रदान गर्नेछ।


मेयर गोपाल हमालले स्वास्थ्य शाखालाई पूर्व मेयर नृपबहादुर वड सवार गाडी हस्तान्त्ररण गर्ने बताए। उक्त गाडी प्रत्येक वडामा स्वास्थ्य शिविर सञ्चालनका लागि प्रयोग गरिनेछ। भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले पाँच वर्षसम्मका लागि एकजना फिजिसियन र एक स्त्रीरोग विशेषज्ञका लागि मासिक तलब र भत्तासहितको सेवाका लागि रकम दिने बताएका छन्।


बुधबार धनगढी उपमहानगरपालिकासँग सम्झौता गर्दै उनले ५० वर्षसम्म पनि चिकित्सकका लागि रकम प्रदान गर्ने बताएका हुन्। उनले सुदूरपश्चिमका २ जनालाई एमबीबीएससम्मको स्वास्थ्य शिक्षाका लागि आफ्नो संस्थाले छात्रवृत्रि दिएको पनि जानकारी दिए।