सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

सुदूरपश्चिम सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।प्रदेशसभामा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभामुख अर्जुनबहादुर थापाले सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन ।

छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ मुख्यमन्त्री त्रिलोचन भट्टले दिएसँगै बिहीबार प्रदेशसभाबाट नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो। दशौं अधिवेशनको नवौं बैठकमा निर्णयार्थ पेश भएको नीति तथा कार्यक्रमलाई सभामुख थापाले सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन्। यसअघि भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रममा भएका बुँदाहरु बजेटमा समावेश हुनुपर्ने सुझाव दिएका थिए।

सभाको छलफलमा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट, नेकपा एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहरा, एकीकृत समाजवादी पार्टीकी अर्चना गहतराज, एमालेका बलदेव रेग्मी, गेल्बुसिंह बोहरा र रतनबहादुर थापाले भाग लिएको थिए। उनीहरुले प्राथमिकता एकातिर हुने र नीति तथा कार्यक्रम र बजेट अर्कै हुने गरेको गुनासो गरेका थिए । मुख्यमन्त्री त्रिलोचन भट्टले सांसदहरुलाई प्रस्तुत नीति तथा कार्यक्रमअनुरुप नै आगामी वर्षको बजेट आउने विश्वास दिलाए । सरकारबाट भएका कमीकमजोरी औंल्याउनु सकारात्मक भए पनि प्रदेश सरकारले केही गर्दै गरेन भन्नु पूर्वाग्रही हुने उनले बताए ।

‘पदमा भएपछि एउटा भाषा बोल्ने र पदबाहिर भए अर्को भाषा किन बोल्छौं, ?’ मुख्यमन्त्री भट्टले भने, ‘के हामीले चमत्कार गर्न सक्ने अवस्था हो र ? शून्यबाट उठेर पाँच वर्षमा न्यूनतम कतिसम्म गर्न सकिन्थ्यो भन्ने पनि स्वमूल्यांकन गरे पुग्छ ।’ जनताका सबै अपेक्षा पूरा गर्न सक्ने अवस्था नभए पनि दुरदराजको समुदायले विकासको अवसर पाएको उनको जिकिर थियो । ‘यही व्यवस्थाले दिएको हो,’ उनले भने ‘हामीले नियतवस पूर्वाग्रही भएर काम गरेका छैनौं र गर्ने पनि छैनौं ।’ प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा धेरै कामहरु गरेको उनको दाबी थियो । सांसदहरुलाई प्रतिप्रश्न गर्दै मुख्यमन्त्री भट्टले भने, ‘विगतका तुलनामा स्वास्थ्य सेवा सुविधा बढेका छैनन् र ? सेती प्रादेशिक अस्पतालमा हिजो र अहिलेको सेवा सुविधा हेरौं । महाकाली अस्पतालको हालत हिजो कस्तो थियो र अहिले कस्तो छ तुलना गर्नुस् ।’ सबैको सहकार्यमा त्यो उपलब्धि भएको उनको भनाइ थियो । उनले प्रदेशसभामा सांसदहरुलाई अन्य प्रश्न पनि गरे । ‘ग्रामीण क्षेत्रमा कालोपत्रे सडकहरु थिए र पहिला?, अहिले त छन् नि ! कृषिमा केही परिवर्तन नभएकै हो र ? बीउ उत्पादनमा आत्मनिर्भर हुँदैछौं । उत्पादनमा वृद्धि भएको छैन र उनले भने ?,’ मुख्यमन्त्री भट्टले हामीले सबै क्षेत्रलाई समेटेको बताएका छन्।