संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरको आचरणविरुद्ध उजुरी परेको छ। आइतबार अधिवक्ताद्वय किशोर पौडेल, अनुपम भट्टराई र कानुनकी विद्यार्थी रेजिना पौड्यालले संघीय संसदको ‘आचारण अनुगमन समिति’मा उजुरी गरेका हुन्। उजुरीमा उनको भनिएको अडिओको ल्याब परीक्षण र कारबाहीको माग गरिएको छ।
उजुरीमा सांस्कृतिक मूल्य मान्यताको जगेर्ना गर्दै संस्कारयुक्त समाज निर्माण गर्ने जिम्मा पाएका मन्त्री आलेले २०७८ फागुन ३ गते सार्वजनिक भएको पहिलो टेलिफोन अडिओमा मुम्बईमा बस्ने एक नेपाली युवालाई अश्लील र अपशब्द प्रयोग गरेर गाली गरेको र ०७९ साल असार ३ गते मिडियामा सार्वजनिक ‘सुन्नै नसक्ने’ अडिओमार्फत नागरिक उड्डयन प्राधिकरणका अध्यक्षलाई हातपात गरेको समेत जानकारी आएको भन्दै त्यसलाई खेदजनक भनिएको छ।
‘सांसदको आचार संहिताको विषयमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१६ को उपनियम ९ख० अनुसार प्रतिनिधिसभा सदस्यहरूले समाजमा विद्यमान सार्वजनिक नैतिकता र आचारण अनुकूलको व्यवहार गर्ने उल्लेख छ,’ उजुरीमा भनिएको छ, ‘यस्तै सोही नियमको उपनियम ९२० मा आचारसंहिता प्रतिनिधि सभाका पदाधिकारी र सदस्यको सार्वजनिक जीवनको सबै पक्षमा लागु हुने विषय समेत उल्लेख छ।’ यसरी नियमको बर्खिलाप हुनेगरी मन्त्री आलेले अपशब्द प्रयोग गर्दै भएको घटनालाई सामान्य विषय मान्न नमिल्ने उजुरीमा उल्लेख छ।