बस दुर्घटना : एक महिलाको मृत्यु, ११ जना घाइते

बस दुर्घटना : एक महिलाको मृत्यु, ११ जना घाइते

सप्तरी जिल्लामा बिहीबार भएको दुर्घटनामा एक ५५ वर्षीया महिलाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। हनुमाननगर कंकालिनी नगरपालिका–१ पूर्व–पश्चिम लोकमार्गस्थित कोशी ब्यारेज र कंकालिनी मन्दिरबीच ना।५ख १८९८ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार महिलाको मृत्यु भएको सशस्त्र प्रहरी सुरक्षा बेश भारदहले जनाएको छ। मृतकको पहिचान हुन बाँकी रहेको उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए।

मोरङको विराटनगरबाट उदयपुरको कटारीसम्म तीव्र गतिमा जाँदै गरेको बस अचानक अनियन्त्रित भइ सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको यात्रीहरुले बताए। घाइतेमध्ये उदयपुरको कटारी नगरपालिका–३ का ७० वर्षीय मानबहादुर तामाङ र निजकी श्रीमती ६९ वर्षीया बिष्णुकुमारी तामाङको अवस्था गम्भीर भएकाले विराटनगर रेफर गरिएको छ। बस चालक फरार भएको र खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ।      

घाइते हुनेमा सहचालक झापाको मेची नगरपालिकाका ३८ वर्षीय पदमबहादुर राई, सप्तरीको कञ्चनरुप नगरपालिका–२ की २० वर्षीया अस्मिना खातुन, वडा नम्बर–३ का १८ वर्षीय आलोककुमार सेख, वडा नम्बर–८ का १७ वर्षीय बिबेककुमार साह छन्।

यसैगरी सुनसरीको इनरुवा नगरपालिका–१ की ३० वर्षीया रिङ्कुकुमारी यादव, ३३ वर्षीय रबिन खड्गा, सुनसरीको बराह क्षेत्र नगरपालिका–५ का १८ वर्षीय निर्मल दाहाल, उदयपुरको चौदण्डिगढी नगरपालिका–६ का ४० वर्षीय सिताराम रसाईली, मोरङको बिराटनगर उप महा नगरपालिका–१३ की ३३ वर्षीय प्रमिला राई घाइते भएका छन्। घाइतेहरुको भारदहस्थित जिल्ला अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ।