आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशमा आजबाट मनसुनी वायुको प्रभाव

आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशमा आजबाट मनसुनी वायुको प्रभाव

काठमाडौंमा आज बिहानैबाट वर्षा भइरहेको छ । दिउँसो केही समय वर्षा रोकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यद्यपि, अपराह्न काठमाडौंमा पुनः वर्षा हुनेछ । 

मौसमविद् हिरा भट्टराईका अनुसार काठमाडौंका हल्कादेखि मध्यम वर्षा हुनेछ । 

प्रदेश–१ का केही स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशमा पनि केही भू–भागमा भारी वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भट्टराईले जानकारी दिए । 

उनका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा पनि वर्षाको सम्भावना रहेको छ । आजबाट उक्त प्रदेशमा पनि मनसुनी वायुको प्रभाव देखिने मौसमविद् भट्टराईले जानकारी दिए । 

यी दुई प्रदेशमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहँदै आएकोमा आजबाट मनसुनी वायुको पनि प्रभाव देखिन थालेको हो । 

विभागका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको प्रभाव रहँदै आएको छ । 

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदी तथा खोलामा बहाव बढ्ने भएकाले स्थानीयले सतर्क रहनु पर्नेमा उनको जोड छ ।