महाकाली सन्धिको अढाइ दशकपछि मूल नहरमा पानी

महाकाली सन्धिको अढाइ दशकपछि मूल नहरमा पानी

नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ । विसं २०६३ देखि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवबाट मूल नहरको काम प्रारम्भ भएको हो । 

भारतले नेपालको भूमिसम्म एक हजार २०० मिटर मूल नहर र हेडरेगुलेटरलगायत संरचना निर्माण गर्न झण्डै दुई दशक समय खर्चियो । केही समयअघि मात्रै भारतीय पक्षले सन्धि अनुसार बनाउनुपर्ने मूल नहर र संचरना तयार गरेपछि महाकालीको पानी मूल नहरमार्फत सिँचाइका लागि यहाँ आउने भएको हो । महाकाली सिँचाइ आयोजना तेस्रो चरणले यही असार १५ गते धान दिवसका अवसरमा मूल नहरमा पानी ल्याएर दिवस मनाउने तयारी गरिरहेको छ ।

भारतीय पक्षले भने मूल नहरअन्तर्गत आफूले निर्माण गरेको एक हजार २०० मिटर नहरमा पानी परीक्षण गर्न खोजिरहेको छ । “धान दिवसका दिन नहरमा पानी ल्याउने गरी भारतीय पक्षलाई पत्राचार गरेका छौँ”, आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जिनीयर शम्भु पण्डितले भने–“पानी ल्याउनेबारे छलफल र काम जारी छ ।”

भारतले निर्माण गरेको नहरमा पानी परीक्षण गर्न तीन÷चार दिन लाग्ने जानकारी गराएको पण्डितले बताए । भारतीय नेशनल हाइड्रोपावर कर्पोरेशन ‍(एनएचपीसी)ले पानी परीक्षणको तयारी गरेको छ । महाकाली सिँचाइले यसअघि ब्रह्मदेवदेखि करिब १३ किलोमिटर मूल नहर निर्माण गरिसकेको छ । थप १५ किलोमिटर नहर निर्माण कार्य अन्तिम चरणमा छ ।