सुदूरपश्चिममा मन्त्रीहरुको जिल्लामा बजेट को ओईरो : तराईका २ जिल्लामा मात्रै ६५ प्रतिशत पूर्वाधारका योजनाहरु

सुदूरपश्चिममा मन्त्रीहरुको  जिल्लामा बजेट को ओईरो :  तराईका २ जिल्लामा मात्रै ६५ प्रतिशत पूर्वाधारका योजनाहरु

सुदूरपश्चिममा प्रदेशका मन्त्रीको निर्वाचन क्षेत्र र जिल्लामा प्रदेश सरकारका योजना हालिएको पाइएको छ। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९र८० को प्रस्तुत गरेको बजेट बढी मात्रामा कैलाली र कञ्चनपुरका विभिन्न ६५ प्रतिशत पूर्वाधारका योजनाहरु समेटिएका पाइएका छन्।

कैलाली र कञ्चनपुरमा आगामी आर्थिक वर्षका लागि ६५ प्रतिशत पूर्वाधारका योजनामा बजेट विनियोजन गरिएको छ।

सुदूरपश्चिम सरकारले ल्याएको बजेटमा भौतिक पूर्वाधार विकास मन्त्रालयको सडक पूर्वाधार विकास तर्फको बजेट वितरणमा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी र आर्थिक मामिला मन्त्री प्रकाश रावलको गृह जिल्ला कैलाली र कञ्चनपुरमा पूर्वाधार विकासतर्फका ६ सय ९७ योजना समेटिएका छन्।

जिल्लास्थित पूर्वाधार विकास कार्यालयले कार्यान्वयन गर्ने गरि तयार भएका ती योजनामा कैलाली र कञ्चनपुरमा अन्य जिल्लाको तुलनामा बढी बजेट राखिएको छ।प्रदेश सभा सदस्यहरु मन्त्रीहरूले बजेट विनियोजनमा आफ्नो क्षेत्रमा मात्रै केन्द्रीत गरेको बताएका छन् ।

कैलाली र कञ्चनपुरमा १६ सांसद छन्। आर्थिक मामिला मन्त्री प्रकाश रावलले कैलाली र कञ्चनपुरमा बढी निर्वाचन क्षेत्र भएकाले सङ्ख्यात्मक हिसाबले बढी योजना परेको बताए।बझाङ्मा पूर्वाधार विकासका ६० योजना अन्तरगत सडक पूर्वाधारका ती योजनामा ३७ करोड बजेट छ ।

यसैगरी बैतडीमा ३६ सडक योजनामा ४२ करोड १३ लाख बजेट, अछाम जिल्लामा ६७ पुर्वाधार विकासका योजनामा ८८ करोड १३ लाख बजेट विनियोजन गरिएको छ। सबैभन्दा कम पूर्वाधारतर्फका १६ वटा सडक योजनामा ४२ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ ।

वार्षिक विकास कार्यक्रम पुस्तिकामा प्रदेशभर सडक पूर्वाधारका १ हजार ६७ योजना समेटिएका छन्। प्रदेशका अन्य ७ जिल्लाको भन्दा कैलाली र कञ्चनपुरमा बजेट खन्याउने काम भएकोले यो बजेट सन्तुलित र समावेशी नभएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक लिलाधर भट्टले बताए।

प्रतिपक्षी दलका सांसदले मात्रै बजेटको विरोध नगरेर सत्ता पक्षका सांसदले पनि सेटिङमा बजेट ल्याउने काम भएको भन्दै विरोध गरेका छन्। उनीहरुले सरकारले समावादी पार्टीका कार्यकर्तालाई फाइदा पुग्ने गरी बजेट ल्याएको आरोप लगाएका छन्।

भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीको गृह जिल्ला कैलालीका ३ सय ६८ सडक निर्माणका योजनामा १ अर्ब ३ करोड ९४ लाख बजेट छ भने आर्थिक मामिला मन्त्री प्रकाश रावलको गृह जिल्ला कञ्चनपुरका ३ सय २९ सडक योजनामा १ अर्ब १३ करोड २० लाख बजेट विनियोजन गरिएको छ। यस्तै मुख्यमन्त्री त्रिलोचन भट्टको गृह जिल्ला डोटीमा १ सय ७ सडक योजनामा ६० करोड ७३ लाख बजेट राखिएको छ। सामाजिक विकास मन्त्री गोविन्दराज बोहराको गृह जिल्लामा ५१ सडक पूर्वाधारका योजनामा ३९ करोड ९४ लाख, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीको गृह जिल्लामा ३३ वटा सडकका योजनामा ५९ करोड ८५ लाख बजेट बिनियोजन भएको छ ।