ओमसतियाका तत्कालिन हाकिमविरुद्ध भ्रष्टाचार मुद्धा

ओमसतियाका तत्कालिन हाकिमविरुद्ध भ्रष्टाचार मुद्धा

रुपन्देहीको ओमसतिया गाउँपालिका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ।

गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय नेपालसहित इञ्जिनीयर लवकुश चाई र सबइञ्जिनियर सन्तोष भुसालले फिल्डमा कम काम भएको सामाग्रीको नापी किताबमा बढी परिमाण मूल्याकंन गरी चढाएको तथा कार्यसम्पन्न प्रतिवेदनसमेत तयार गरी आफूहरुलाई गैरकानूनी लाभ पुर्याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

ओमसतिया गाउँपालिका(४ मटेरिया गाउँको मुख्य सडक पीसीसी निर्माण कार्यगर्दा सम्झौता अनुसार काम नगरी रकम हिनामिना गरेको भन्ने उजुरी परेको थियो।

मटेरिया गाउँको मुख्य सडकमा पीसीसी गर्ने कार्यमा लागत अनुमान अनुसारको मोटाईमा ढलान नगरी सोभन्दा कम मोटाइमा ढलान गरेको तर नापी किताब तथा बिल पेश गर्दा फिल्डमा भएको भन्दा समग्र पीसीसी परिमाणमा बढी उल्लेख गरी २ लाख ६१ हजार ८५५ रुपैयाँ सरकारी रकम हानिनोक्सानी गरेको आरोप लागेको छ।

यसैगरी सडक ढलान गर्ने उपभोक्ता समितिका अध्यक्ष गजराज यादव र सचिव धर्मराज खरविन्दले फिल्डमा भएको कम कामको बढी मूल्याकंन गराएको अख्तियारको विज्ञप्तीमा उल्लेख छ।

गैरकानूनी रुपमा हानिनोक्सानी भएको बिगो दुई लाख एकसठ्ठी हजार आठ सय पचपन्न रुपैयाँ राजु नेपाल, लवकुश चाई र सन्तोष भुसालविरुद्ध बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।