संघ, प्रदेश र स्थानीय तहको लेखा पारदर्शी हुनुपर्छ : राष्ट्रपति भण्डारी

संघ, प्रदेश र स्थानीय तहको लेखा पारदर्शी हुनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले संघ, प्रदेश र स्थानीय तहको लेखा पारदर्शी हुनुपर्ने बताएकी छन् । बुधबार महालेखा परीक्षक कार्यालयको ६४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक अनुशासन कायम गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएकी हुन्। 

उनले तीनै तहका सरकारबाट हुने विकास निर्माण र सेवा प्रवाहमा पारदर्शिताको प्रवर्द्धन गर्न महालेखा परीक्षक कार्यालय सक्षम हुनुपर्ने बताइन् । भण्डारी सार्वजनिक प्रशासनमा देखिएका अनियमित र भ्रष्टाचार नियन्त्रण गर्न राज्यका निकायबीच समन्वय हुनुपर्ने धारणा राखिन् । उनले भ्रष्टचारजन्य गतिविधि नियन्त्रण गर्न एकीकृत र समन्वयनात्मक प्रयास हुनुपर्ने स्पष्ट पारिन्।

उनले हरेक वर्षका प्रतिवेदनमा बेरुजु बढिरहेको देखाएकाले विगत लामो समयदेखिका बेरुजु फर्छ्यौट गर्नुपर्ने बताइन् । लामो समयदेखि देखिएको बेरुजु फर्छ्यौट गर्न अभियानकै रुपमा लाग्न भण्डारीले निर्देशन दिइन्। उनले अनियमितता बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिन्। भण्डारीले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई विगतको जस्तो कमजोरी नदोहोर्‍याइ आर्थिक अनुशासनको पालनामा ध्यान दिन आग्रह गरिन्।