विमानस्थलबाट कोरियन नागरिक पक्राउ

विमानस्थलबाट कोरियन नागरिक पक्राउ

कस्तुरीको विना जस्तो देखिने ७१६ ग्राम धुलोसहित कोरियन नागरिक पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार कोरियन एयरको उडानबाट कोरिया जान लागेका जङ जुन जनलाई प्रहरीले पक्राउ गरेको हो।

जुत्तामा लुकाएर लैजाँदै गरेको अवस्थामा खानतलासी गर्दा उनी पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले जानकारी दिए।

ह्याण्ड व्यागेज चेकिङ एरियामा खानतलासी गर्दा निजले लगाएको निलो रंगको म्याक्स१५ लेखिएको जुत्तालाई एक्सरे गर्दा दुवै जुत्ताभित्र सेतो रंगको प्लास्टिक र टेपले बेरिएको कस्तुरीको विनाजस्तो देखिने धुलोसहितको पोका देखिएको र निकाल्दा अन्दाजी तौल ७१६ ग्राम धुलो भेटिएको हो,ु बुधबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

ढकालका अनुसार पक्राउ परेका जुनलाई आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ।