४४ करोड ३८ लाख मागदाबी गर्दै २७ जनाविरूद्ध राजस्व छलीको मुद्दा

४४ करोड ३८ लाख मागदाबी गर्दै २७ जनाविरूद्ध राजस्व छलीको मुद्दा

पशुपति रोड क्यारियर लगायतका फर्महरूले भन्सार नाका प्रयोग नगरी, प्रज्ञापन पत्रसमेत नभरी सामान आयात गरेर राजस्व छलेको भन्दै राजस्व अनुसन्धान विभागले मंगलबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

विभागले पशुपति रोड क्यारियरका सञ्चालकसहित २७ जनाविरूद्ध बिगो र जरिवाना गरी ४४ करोड ३८ लाख रूपैयाँ दाबी गर्दै मुद्दा दायर गरेको हो।

पशुपति रोड क्यारियरको बुटवल शाखाले बिक्रेता न्यू मनकामना सप्लायर्स रूपन्देही र क्रेता सांग्रीला एक्सपोर्ट तथा राज फेन्सी कर्नर उल्लेख गरी मालवस्तु पठाएको तर उक्त मालवस्तु अन्य विभिन्न फर्मले बिनाबिलबिजक बुझिलिएको विभागले जनाएको छ।

यी सामान आयात गर्दा भन्सार नाका प्रयोग नगरिएको र प्रज्ञापन पत्र नभरिएको विभागले बुधबार जारी गरेको विज्ञप्तिमा छ। यसबाट भन्सार, आयकर, मूल्य अभिवृद्धि कर र लाभांश कर लगायत राजस्व चुहावट भएको विभागले उल्लेख गरेको छ।

विभागले पशुपति रोड क्यारियरका सञ्चालकहरू काठमाडौं रविभवन बस्ने महेन्द्रप्रसाद गुप्ता, राजेन्द्रप्रसाद गुप्ता, मधुकुमारी गुप्ता, कर्मचारीहरू उपेन्द्रकुमार सिंह र अन्जियन आलमविरूद्ध मुद्दा दायर गरेको हो।

त्यस्तै न्यू मनकामना सप्लायर्सका प्रोप्राइटर रूपन्देहीका रेखा जैसवाल, मुख्य कारोबारी राकेशप्रसाद जैसवाल, सुद्रानिया इम्पेक्सका प्रोप्राइटर भरतकुमार अग्रवाल लगायत विभिन्न कम्पनीका सञ्चालक तथा कर्मचारीविरूद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ।

विभागका अनुसार उनीहरूलाई राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ अन्तर्गत मुद्दा दायर गरिएको छ।मुद्दा दायर हुनेमा एउटा गोदामसहित १३ वटा फर्म छन्।

यी कम्पनीहरूसँग २२ करोड १९ लाख ४६ हजार ७०३ रूपैयाँ बिगो र बिगोको शतप्रतिशत जरिवाना गरी जम्मा ४४ करोड ३८ लाख ९३ हजार ४०६ रूपैयाँ मागदाबी गरिएको छ।

कसुर हेरेर विभिन्न कम्पनीका सञ्चालकलाई एक महिनादेखि पाँच वर्षसम्म कैद सजाय पनि माग गरिएको छ।