बालिका यौनधन्दामा लगाउने पक्राउ

बालिका यौनधन्दामा लगाउने पक्राउ

ताप्लेजुङ सदरमुकामका होटलमा १४ वर्षीय बालिकालाई यौनधन्दामा लगाउने ६ जना पक्राउ परेका छन्। फुङलिङको एक कपडा पसलबाट ११ वर्षीय बालकले पैसा चोरी गरे।

पसलको सिसी क्यामेराको फुटेजका आधारमा बालक र उनका साथीलाई ताप्लेजुङ प्रहरीले नियन्त्रणमा लियो। ती बालकले चोरी गरेको नगद एक होटलकी साहुनीलाई पुर्‍याउँदा रहेछन्। ती बालकले चोरेको पैसा बुझाएको होटल साहुनी र त्यहाँको कर्तुतबारे प्रहरीले बालिकालाई यौनधन्दामा लगाउने गरेको थाहा पाएको हो।

प्रहरीले चोरी गर्ने बालकलाई अभिभावकको जिम्मा लगाएर उनले दिएको सूचनाको आधारमा उनको उद्धार गरी बालिकालाई यौन व्यवसायमा प्रेरित गर्ने २ महिला र ४ जना पुरुषसहित ६ जनालाई पक्राउ गरेको हो। उनीहरूविरुद्ध उजुरी नै दर्ता गरेको भए तापनि अनुसन्धानमा असर गर्ने भएकाले परिचय खुलाउन असमर्थ रहेको जनाएको छ।

पैसा असुलेर शारीरिक सम्बन्ध गराउने ३ वटा होटलका ३ जना सञ्चालकसहित बालिकासँग यौन सम्पर्क राखेको आरोपमा थप ३ जनासहित ६ जनाविरुद्ध उजुरी दर्तासँगै अनुसन्धान सुरु गरिसकेको छ। तीमध्ये ३ जनालाई बलात्कार र २ जनालाई शरीर बन्धक, मानव बेचविखन तथा ओसारपसार र १ जनालाई मतियारका रूपमा मुद्दा दर्ता गरेको छ। 

अनुसन्धान सकिए २५ दिन अगावै अदालतमा मुद्दा दर्ताको तयारी गरेको ताप्लेजुङ प्रहरी प्रमुख कैलाशकुमार राईले बताए। ‘एउटा घटनाको अनुसन्धानमा अर्को ठूलो अपराधको खुलासा भयो,’ डीएसपी राईले भने, ‘सदरमुकामभित्रै भइरहेको यस्तो गतिविधि छरछिमेक, आसपासकोलाई पक्कै थाहा थियो होला। कसैले सूचनासम्म दिएनन्।’ प्रहरीले हरेकजसो होटलमा तथ्यांक राख्नेलगायत व्यवस्थापनका लागि छलफल एवं अनुगमन दुवै गर्ने भएको छ।

होटेल सञ्चालकले १ हजार राख्ने र १ हजार बालिकालाई दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। बालिकाको आमाको मृत्युपछि बुवा र कान्छीआमासँग सदरमुकाम क्षेत्रमा भाडाको कोठामा बस्ने गरेको बालिकाले बताएकी छन्।