काठमाण्डाै उपत्यकामा हैजाको प्रकोप बढ्दो, अहिलेसम्म १४ जनामा सङ्क्रमण पुष्टि

काठमाण्डाै उपत्यकामा हैजाको प्रकोप बढ्दो, अहिलेसम्म १४ जनामा सङ्क्रमण पुष्टि

काठमाण्डौ उपत्यकामा हैजाका बिरामीको सङ्ख्या बढ्दै गएको छ । हिजो थप दुई जनामा हैजा पुष्टि भएको छ ।

योसँगै असार २ गतेदेखि असार १५ गतेसम्म काठमाण्डौमा १४ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। सङ्गीता मिश्राले जानकारी दिनुभयो। उहाँका अनुसार हैजा पुष्टि हुनेमा चार जना महिला र १० जना पुरुष रहेका छन् ।

काठमाण्डौ उपत्यकामा हैजा फैलनुको मुख्य कारण दूषित पानी रहेको पाइएको छ । धाराको पानी, बोतलरजारको पानी र जमिनमुनिको पानीको चार वटा नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको थियो । त्यस्तै ललितपुरबाट लिएको १८ वटा पानीको नमुनामध्ये १२ वटा नमुनामा इकोलिन फेला परेको छ ।

छिटो फैलिने भएकाले एक जनामा हैजा देखिए पनि यसलाई ठूलो जोखिम मानिन्छ । भिब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा पानीजन्य सरुवा रोग हो । यो दूषित पानी वा खाद्यवस्तुबाट सर्ने गर्छ । सङ्क्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षण देखिन्छ ।

निरन्तर पातलो दिसा लाग्नु र बान्ता हुनु हैजाका प्रमुख लक्षण हुन् । हैजा लागेपछि तौल घट्दै गएमा, पेट दुखेमा, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा चाउरी पर्ने, छाला नीलो हुने र जलवियोजन हुने लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुमनलाल दासको आग्रह छ ।

हैजाबाट बच्न पानी उमालेर खान, सकेसम्म घर बाहिरका खाना र बासी खानेकुरा नखान पनि डाक्टरको सुझाव छ । सङ्क्रमण फैलने जोखिम रहेकाले सचेत रहन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। मिश्राको आग्रह छ ।