एक करोड बढी मूल्यको अफिमको दाना बरामद

एक करोड बढी मूल्यको अफिमको दाना बरामद

नेपालगञ्जस्थित नेपाल(भारतको नाका जमुनाहाबाट प्रहरीले एक करोड बढी मूल्यको अफिमको दाना (पप्पी सिड) बरामद गरेको छ।

अफिमको दाना रहेको दुई सय ५० बोरा शुक्रबार बिहान जमुहनाहा नाकाबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले सेतोपाटीलाई जानकारी दिए।

नेपालगन्जबाट जमुनहा नाका हुँदै भारतको रुपैडिहातर्फ जाँदै गरेको आरजे ०९ जिबी ४५४२ भारतीय नम्बर प्लेटको मालवाहक कन्टेनरबाट अफिमको दाना बरामद भएको हो। कन्टेनरभित्र निर्माण गरिएको छुट्टै फल्स बटनमा लुकाएर राखिएको अवस्थामा अफिमका दाना बरामद भएको डिएसपी न्यौपानेले बताए।

बरामद पप्पी सिडको परीक्षणका लागि भन्सार कार्यालयमा पठाइएको छ,’ डिएसपी न्यौपानेले भने, ‘बोरामा लेखेको आधारमा हामीले नेटमा सर्च गर्दा पप्पी सिड भन्ने फेला पर्‍यो।’

अफिम खेती गर्नका लागि बीउको रूपमा प्रयोग गर्न अफिमका दाना भारततर्फ लैजान खोजेको हुनुपर्ने डिएसपी न्यौपानेले अनुमान गरे।

बरामद अफिमको दानामध्ये एउटा बोरामा राखेको सामानको मूल्य झन्डै ५० हजार बढी पर्ने कुरा खुल्न आएको न्यौपानेले जानकारी  दिए।  हरेक बोराको तौल २५ केजीको रहेको प्रहरीले जनाएको छ।

कन्टेनर रोक्न खोज्दा त्यसका कन्टेनरका चालक र सहचालक भागेर भारततर्फ प्रवेश गरेको डिएसपी न्यौपानेले बताए।

‘नाकामा ड्युटीमा रहेका प्रहरी हवल्दारलाई गोप्य सूचना आएको थियो,’ न्यौपानेले भने, ‘त्यही आधारमा उहाँले कन्टेनर रोक्नासाथ अगाडि बसेका चालक र सहचालक भागेर भारततिर गएछन्।’

उनीहरू भागेपछि झनै आशंका उब्जिएको र खोज तलास गर्दा कन्टेनरको गोप्य कोठामा अफिमका दाना भएका बोरा बरामद भएको डिएसपी न्यौपानेले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।