नेपाल वायुसेवा निगमको टिकट बुकिङ गर्न मिल्ने वेबसाइट सुरु

नेपाल वायुसेवा  निगमको टिकट बुकिङ गर्न मिल्ने वेबसाइट सुरु

नेपाल वायुसेवा निगम (नेवानि)ले ६४औँ वार्षिकोत्सवको अवसर पारी नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ । शुक्रबार पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नयाँ वेबसाइट शुभारम्भ गरेका हुन् ।

नयाँ वेबसाइटमार्फत यात्रुलाई नेपाल एयरलाइन्सको टिकट बुकिङ गर्न सहज हुने बताइएको छ । एक महिनाभित्र यात्रुहरूले अनलाइन बुकिङ प्लेटफर्ममार्फत घरमै बसी–बसी टिकट काट्न सक्ने निगमका महाप्रबन्धक दीपुराज ज्वारचनले बताए ।

आगामी दिनमा निगमले अन्तर्राष्ट्रिय उडानको बुकिङसहितको मोबाइल एप, लोयल्टी म्यानेजमेन्ट सिस्टमको सुविधा पनि थप गर्ने भएको छ । यो वेबसाइटमार्फत निगमको फेसबुक, ट्विटर, युट्युब र इन्स्टाग्राममा पनि जोडिन सक्ने सुविधा रहेको छ ।

निगमको नयाँ वेबसाइटमा च्याटबक्सको पनि सुविधा छ, जसमा यात्रुहरूले आफ्नो जिज्ञासा र गुनासो राख्न सक्नेछन् । वेबसाइटमा रहेको उडानतालिकाबाट यात्रुहरूले विविध उडान सूचना, गन्तव्य तथा अन्य जानकारीहरू पनि प्राप्त गर्न सक्ने महाप्रबन्धक ज्वारचनले बताए ।