जुन महिनामा नेपाल भित्रिए झन्डै ४७ हजार जना पर्यटक

जुन महिनामा नेपाल भित्रिए झन्डै ४७ हजार जना पर्यटक

अघिल्लो अङ्ग्रेजी महिना अर्थात् सन् २०२२ को जुन महिनामा नेपालमा झन्डै ४७ हजार जना पर्यटक नेपाल आएका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार जुन महिनामा ४६ हजार नौ सय ५७ जना पर्यटक नेपाल आएका छन् । सबैभन्दा धेरै भारतबाट २३ हजार दुई सय ४८ जना पर्यटक आएका छन् । समग्रमा दक्षिण एसियाबाट २६ हजार ३० जना, सार्कबाहेक एसियाका अन्य देशबाट दुई हजार तीन सय ६९ जना पर्यटक नेपाल आएका छन् ।

यस्तै युरोपका देशबाट चार हजार सात सय ८७ जना, अस्ट्रेलिया र न्युजिल्यान्डबाट एक हजार पाँच सय ४९, अमेरिका र क्यानडाबाट आठ हजार नौ सय ८० जना र अन्य देशबाट तीन हजार दुई सय ४२ जना पर्यटक नेपाल आएका छन् ।

कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ को जुन महिनामा ६१ हजार तीन सय ५१ जना पर्यटक नेपाल आएका थिए । सन् २०२२ को जनवरीयताका ६ महिनामा दुई लाख ३७ हजार ६ सय ९६ जना पर्यटक नेपाल आएका छन् ।