दुहुँ कार्यपालिका निर्णय : करार कर्मचारीको सम्झौता नथपिने

दुहुँ कार्यपालिका निर्णय : करार कर्मचारीको सम्झौता नथपिने

दार्चुला : आइतवार बसेको दुहुँ गाउँपालिकाको कार्यपालिका बैठकले पालिका अन्तर्गतका करार कर्मचारीहरुको सम्झौता थप नगर्ने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह बहादुर बडालको अध्यक्षतामा बसेको बैठकले पालिका स्थापना भएदेखि हालसम्म विभिन्न मिति र समयमा नियुक्त गरिएका सबै प्रकारका करार कर्मचारी र ज्यालादारी कर्मचारीको सम्झौता थप नगर्ने निर्णय गरेको हो । उक्त निर्णयमा भने ४ कार्यपालिका सदस्यले असहमति जनाएका छन् ।

कार्यपालिकामा नेकपा एमालेका सदस्यहरुको बहुमत छ । असहमति जनाउनेमा नेपाली काँग्रेस र नेकपा माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरु रहेका छन् । गाउँपालिकामा लागू भएका सशर्त अनुदान कार्यक्रमअन्तर्गत सेवा गर्दै आएका र गाउँपालिका स्थापना हुनुपूर्व नियुक्ति लिइ गाउँपालिकाअन्तर्गत सेवा गर्दै आएका करार कर्मचारीबाहेक अन्य सबै कर्मचारीहरुको सम्झौता थप नगर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह बहादुर बडालले जानकारी दिए ।

उनका अनुसार साउन १ गतेबाट अर्को व्यवस्था नहुन्जेलसम्म सम्झौता थप गरिने छैन् । तर अर्को व्यवस्था लोकसेवा वा अन्य कुनै प्रक्रियाबाट गर्ने भन्ने खुलाइएको छैन् । गाउँपालिकाअन्तर्गतका करार कर्मचारीहरुको चैत महिनासम्मको तलब भुक्तानी भइसकेको र बाँकी तीन महिनाको केहि दिनभित्रै भुक्तानी गरिने गाउँपालिकाको लेखा शाखाले जनाएको छ ।