भू-उपग्रह खसाल्न भारत सफल

भू-उपग्रह खसाल्न भारत सफल

भारतले बुधबार पृथ्वीको भू-उपग्रहीय तल्लो कक्षमा राखिएका भू-उपग्रहलाई क्षेप्यास्त्रमार्फत सफलतापूर्वक खसाल्ने चौथो देश बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।

भारतको उक्त सफलतासँगै अब अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारत महाशक्ति राष्ट्रको श्रेणीमा उक्लिएको पनि प्रधानमन्त्री मोदीले दाबी गरेका छन्। अमेरिका, रूस र चीनसँग मात्र यस्तो क्षमता रहेको छ। टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘भारतीय वैज्ञानिकहरूले एउटा भू-उपग्रह सफलतापूर्वक खसालिदिएका छन्। यो भारतका लागि गर्वको क्षण हो।’

भारतीय वैज्ञानिकहरूका अनुसार क्षतिग्रस्त भू-उपग्रह पृथ्वीबाट करिब ३ सय किलोमिटरमाथि पृथ्वीको तल्लो कक्षमा थियो। प्रधानमन्त्री मोदीले यो अभियान शान्तिपूर्ण प्रयोगका लागि भएको र युद्ध भड्काउने उद्देश्यबाट प्रेरित नभएको स्पष्ट पारेका छन्। यो कुनै मुलुकप्रति लक्षित पनि नभएको उनको कथन छ। भारतीय लोकसभाको चुनाव आउनै लागेको अवस्थामा यस्तो घोषणा गरिएको छ। प्रधानमन्त्री मोदी दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन्। भारतमा अप्रिल ११ देखि मतदानका कार्यक्रम शुरु हुँदै छन् र यो करिब छ साता चल्नेछ। करिब ९० करोडले यसपटक मतदानमा भाग लिने अपेक्षा गरिएको छ।

‘मिशन शक्ति’ नाम दिइएको उक्त घटनाको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले राजनीतिक घोषणा भएको भन्दै आलोचना गरेकी छन्। मोदीले निर्वाचन आचार संहिता उल्लंघन गरेकाले यसको उजुरी निर्वाचन आयोगमा गर्ने बताएकी छन्। उनले भनिन्, ‘यो राजनीतिक घोषणा हो। यसको घोषणा वैज्ञानिकले गर्नुपर्नेमा मोदीले गरे।’ मोदी अन्तरिक्षमा गए जस्तै गरी यो कामको जस लिएको भन्दै उनले असन्तुष्टि प्रकट गरिन्।

कंग्रेसआई र माक्र्सवादी कम्युनिस्ट पार्टी ९सीपीएम०ले पनि निर्वाचन आयोगलाई पत्र लेखेका छन्। सफलतापूर्वक भारतले उपग्रह खसालेपछि चीनले सबै देशले अन्तरिक्षमा शान्ति कायम राख्नुपर्ने बताएको छ। चीनले यस्तै परीक्षण जनवरी २००७ मा गरेको थियो। चीनले पनि निष्क्रिय मौसम उपग्रह नष्ट गरेको थियो। यसैगरी पाकिस्तानी विदेश मन्त्रालयले भने भारतीय कदमप्रति कटाक्ष गरेको छ। यो पवनचक्कीलाई शत्रु ठानेर त्यसैसँग लडे जस्तो काम भएको बताएको छ।