संस्मरणमा राष्ट्रिय विकास सेवाको एक वर्ष

संस्मरणमा राष्ट्रिय विकास सेवाको एक वर्ष

‘सांँफ्या साँघु हलक्किँदो ग्वाँन्नी बयालिँदो ।
बगन्या पानीका जन मन क्या रयालिँदो ।।’

झण्डै ४५ वर्ष पहिले राष्ट्रिय विकास सेवाअन्तर्गत अछामको एक विद्यालयमा १० महिना स्वर्यसेवक भई फर्केपछि काठमाडौँको रैथाने नेवारि भाषि डंगोल थरका एक विद्यार्थीले त्रि.वि.कीर्तिपुरको एक कार्यक्रममा सुनाएको अछामी भाषाको देउडा गीत थियो, यो ।

वि.सं. २०२८ सालमा लागू भएको नयाँ शिक्षा योजनाअन्तर्गत २०३२ सालदेखि त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययन गर्ने सबै विद्यार्थीहरूको लागि १० महिना नेपालको कुनै एक ग्रामीण विद्यालयमा गएर स्वयंसेवक भई काम गर्नुपर्ने राष्ट्रिय विकास सेवा जसलाई रा.वि.से. भन्ने गरिन्थ्यो, सुरु भएको हो । त्यस बेला स्नातकोत्तर तह पूरा गर्न तीन वर्ष लाग्दथ्यो । पढाइ कीर्तिपुरमा मात्र हुन्थ्यो । पहिलो वर्ष दुई सेमेष्टरको पढाई, ,त्यसपछि एक वर्षको रा.वि.से. त्यसपछि बाँकी तेस्रो र चोथौ सेमेष्टरको पढाइ हुन्थ्यो । रा.वि.से.लाई पाठ्यक्रममा ‘१० क्रेडिट आवर’ सरह मानिथ्यो । त्यसमा २ क्रेडिट आवरको भिलेज प्रोफाइल लेख्नुपथ्र्यो । त्यसैले रा.वि.से. सबैको लागि अनिवार्य थियो । त्यस बेला नेपालको दूरदराजका दुर्गम गाउँँमा पनि रा.वि.से. पुगेका थिए । विश्वविद्यालयमा पढदै गरेका सयौ जना बिद्यार्थीहरु नेपालको दुर दराजका गाउ गाउमा स्वयंसेवक भई काम गर्नाले तन्कालिन समाजमा विशेष गरेर विद्यालयहरुमा ठुलो जागरण आएको थियो । यो कार्यक्रम अमेरिकाको पिसकोर स्वयंसेवक कार्यक्रमसँग मिल्दोजुल्दो थियो।

२०३६ सालमा जनमत सङ्ग्रहको धोषणापछि यो कार्यक्रम स्थगित गरिएको हो । जनमत सङ्ग्रहमा बहुदल या सुधारिएको पञ्चायतमध्ये एक रोज्न मतदान हुँदै थियो । देशभरि रा.वि.से. स्वयंसेवकको रूपमा कार्यरत विद्यार्थीहरूले बहुदलको प्रचार गरी पञ्चायतलाई हराउन सक्छन् भन्ने डर सरकारलाई थियो । त्यसै कारण जनमत सङ्ग्रह धोषणा हुनासाथ अवधि पूरा नहुँदै यो कार्यक्रमबाट विद्यार्थीहरूलाई फिर्ता बोलाइयो । म २०३४ सालमा चौथो ब्याचमा यस कार्यक्रममा सहभागी भएको थिएँ । त्यो वर्ष स्नातकोत्तर तहमा अध्ययनरत जम्मा एक हजार विद्यार्थीहरू रा.वि.से. कार्यक्रममा देशको विभिन्न जिल्लामा गएका थिए ।

डोटीको प्रभात माविको छाना छाउने स्लेट ल्याउँदै विद्यार्थी। तस्वीरहरू सौजन्य: हेमराज पन्त

राजा वीरेन्द्रको ‘विकासको लागि शिक्षा’ भन्ने अवधारणा अनुसार रा.वि.से.लाई नेपालमा उच्चशिक्षाको अभिन्न अंग बनाइएको थियो । सुरुमा केही विद्यार्थीहरूले यसको विरोध गरे पनि पहिलो ब्याचका विद्यार्थी एक वर्ष गाउँँमा काम गरेर आई आफ्नो अनुभव सुनाए । त्यसपछि यसको उपयोगिता र लोकप्रियता बढ्न गयो । विश्वविद्यालयमा अध्ययनरत आजका विद्यार्थीहरू नै भोलिका प्रशासक, योजनाविद्, व्यवस्थापक, शिक्षक, नेता हुने हुँदा उनीहरूलाई देशको वास्तविक स्थितिको जानकारी आवश्यक हुन्छ, जुन कुरा कक्षाकोठामा प्राप्त गर्न सकिँदैन । अन्य देशहरूले पनि यस कार्यकममा रुचि लिएका थिए ।

रा.वि.से. कार्यक्रम एकदमै व्यवस्थित तरिकाले सञ्चालन भएको थियो । जिल्लामा खटाउनुभन्दा पहिले विद्यार्र्थीेहरूलाई तालिमको लागि काठमाडाँै नजिकैको कुनै विद्यालयमा करिब तीन हप्ताजति पूरै समय त्यहीँ बस्नु पर्ने ‘इन हाउस क्याम्प’मा राखिन्थ्यो । बाहिर जानु परे अनुमति लिएर मात्र जान पाइन्थ्यो । तालिम पूर्ण अनुशासनको पालना गर्नुृपर्ने हुन्थ्यो । मेरो समूहको तालिम काभ्रे जिल्लाको खडपु भन्ने ठाउँको एक ग्रामीण विद्यालयमा राखिएको थियो । त्यसमा करिब सयजना थिए । त्यस्तै क्याम्पहरू अन्य ठाउँमा पनि बनाइएका थिए । तालिमको सुरुवात स्काउट तालिमबाट हुन्थ्यो । विद्यार्थीहरूलाई आठ÷दश जनाको टोलीमा बाँडिएको हुन्थो । स्काउटको नियमअनुसार विद्यार्थीहरूले अरू कामको साथै राति पालैपालो गेटमा पहरा दिने सेन्ट्रीको रूपमा समेत काम गर्नु पर्दथ्यो । मेरो पालो परेको दिन–रात जाडोमा कम्मल ओढेर गेट नजिकै कुरुवा बसेको सम्झना छ । भोलिपल्ट बिहान हरेक विद्यार्थीले आफ्नो पालो परेको बेलाको रिर्पोट स्काउट मास्टरलाई सुनाउनु पर्दथ्यो । क्याम्प सञ्चालन नेपाल स्काउटका आयुक्तहरूले गर्दथे । म रहेको क्याम्पमा नेपाल स्काउटका त्यस बेलाको चर्चित र कडा अनुशासन पालन गराउने गोविन्द नारायण ज्यापू हुनुहुन्यो ।

स्वयंसेवक भई १० महिना गाउँँमा काम गर्दा आवश्यक पर्ने सबै विषयको तालिम दिइन्थ्यो । रा.वि.से. स्वयंसेवकको एक प्रमुख जिम्मेवारी विद्यालयमा पढाउने भएकोले शिक्षण विधि, पाठ योजना र बाल मनोविज्ञान बारेमा सिकाउन अनुभवी प्राध्यापक तथा त्यसबेला नाम चलेका बिद्यालयका हेडमाष्टरहरूलाइ बोलाइएको हुन्थ्यो । प्राथमिक उपचार र गाउँमा देखा पर्ने सामान्य विरामीको उपचार जस्तै जुका परेको, ज्वरो आएको, पखाला लागेको, सर्पले टोकेमा ट्युनिकेटर बाँध्ने तरिका, चोटपटक लागेकामा पट्टी बाँध्ने तरिका लगायत शहरभन्दा टाडा गाउँमा बस्दा आवश्यक सर्भाइबल स्किलहरूको जानकारी दिन डाक्टर, नर्सहरूले क्लास लिन्थ्े । गाउँमा सानातिना विकास निर्माणका काम र परम्परागत प्रविधि सिकाउन इन्जिनियर आउँथे । त्यस्तै, तरकारी लगायत खेतीपातीको ज्ञान पनि कृषिविज्ञहरूबाट दिइन्थ्यो । वृक्षारोपणको बारेमा पनि सिकाइन्थ्यो । नाङ्गो डाँडालाई वृक्षारोपण गरेर कसरी हराभरा बनाउन सकिन्छ भन्ने देखाउन काभ्रे जिल्लाका डी.एफ.ओ.ले फिल्ड भिजिटमा समेत लगेका थिए । बिहान उज्यालो भई स्काउटको परेडबाट सुरु हुने तालिम कार्यक्रम राति अबेरसम्म चलिरहन्थ्यो । क्याम्पमा समय बितेको थाहा नै हुँदैनथ्यो ।

तालिमबाट फर्केर आएपछि विद्यार्थी कीर्तिपुरमा भेला हुन्थे । कुन जिल्लामा जाने भन्ने कुरा गोलाप्रथाबाट निर्णय हुने व्यवस्था थियो । गोलाप्रथापछि चाहेको खण्डमा विद्यार्थीहरू परस्पर सहमतिमा जिल्ला साँट्न पनि सक्थे । आप्mनो जिल्लामा जान पाइन्थ्यो तर आप्mनै गाउँ पञ्चायतमा भने जान पाइँदैनथ्यो । आफूखुसी ठाउँ रोजेर पनि जान पाइँदैनथ्यो । शारीरिक समस्या भएका र विरामी विद्यार्थीहरूलाई सुविधा भएको विशेष गरेर तराईका जिल्लामा खटाइन्थ्यो । त्यस्तै छात्राहरूलाई अलि सुरक्षित र शहरनजिकको विद्यालयमा पठाइन्थ्यो । सबैको कीर्तिपुरमै स्वास्थ्य परीक्षण गरेपछि मात्र वाहिर पठाइृन्थ्यो । आजभन्दा झण्डै ४५ वर्षपहिले अधिकांश जिल्लामा मोटरबाटो थिएन । सदरमुकामबाट दुई÷तीन दिनसम्म हिँडेर खटाएको विद्यालयमा पुगिन्थ्यो । आजभोलिको जस्तो सञ्चार सुविधा पनि थिएन । सुदूरपश्चिम र कर्णालीका पहाडी जिलाहरू निकै दुर्गम मानिन्थे । कुनै कुनै ठाउ जादा त वाटोमा खाने सामल पनि वोकेर हिडनु पर्दथ्यो ।त्यस्तो अवस्थामा विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षित बसाइ एक चुनौति नै यियो । रा.वि.से कार्यक्रमको सम्पूर्ण व्यवस्थापन गर्न त्रि.वि. हातामा रा.वि.से. निर्देशनालय स्थापना गरिएको थियो । म रा.वि.से.मा जाँदा इतिहासका प्राध्यापक डा. तुलसीराम वैद्य निर्देशक हुनुहुन्थ्यो । गाउँमा बसाइको बेला रा.वि.से.को जिम्मेवारी विद्यालय तथा गाउँ पचायतको हुन्थ्यो ।

गाउँ जानुअघि काभ्रेको खड्पुमा तालीम लिंदै हेमराज पन्तको टोली।

जिल्लामा जाने विद्यार्थीहरूलाई हरेक जिल्लाको एउटै टोली बनाई पु¥याउन विश्वविद्यालयका सरहरू जान्थे । पहाडी जिल्लामा नजिकको एयरपोर्टसम्म प्लेनमा लगिन्थ्यो । मेरो ब्याचका विद्यार्थीहरूलाई ट्वीन अटर प्लेन चार्टर गरेर दिपाइल पु¥याइएको थियो । प्लेनको पाइलट अलि रमाइलो स्वभावका थिए । दिपायल उत्रिनुअधि ‘ल भाइहरू ! सिलगढी हेर’ भनेर आकाशमा एकफन्को मारेका थिए । जिल्ला सदरमुकाम पुगेपछि एकहप्ताको स्थानीय अभिमुखीकरण कार्यक्रम हुन्थ्यो । जिल्लामा रहेका विषयगत कार्यालयका प्रमुखहरूले शिक्षा, स्वास्थ्य, कृषि विषयमा क्लास लिन्थे । जिल्लाको, भूगोल, भाषा, संस्कृति रहनसहनबारेमा जानकारी गराइन्थ्यो । जिल्लामा रहेका प्र.जि.अ. र प्रहरीहरू रा.वि.सेहरूबाट हुन सक्ने पञ्चायत विरोधि गतिविधिबारे सचेत गराउथे । त्यसबेलाको गाउँफर्क अभियान जसको मुख्य काम पञ्चायत विरोधि गतिविधिमा निगरानी गर्नु थियो । जिल्लाका पदाधिकारीहरू आएर रा.वि.से.ले जिल्लामा गर्न हुने र गर्न नहुने कामबारे लामो प्रशिक्षण दिन्थे ।

पुष–माघतिर अघिल्लो ब्याचका विद्यार्थी अवधि पूरा गरेर फर्किने र नयाँ आउने समय हुन्थ्यो । अवधि पूरा गरेर फर्किन लागेका र नयाँ आएका रा.वि.से.हरूको बीचमा पनि भेटधाट र अनुभव आदानप्रदानको कार्यक्रम राखिएको थियो । जयराज अवस्थी सर ‘जो पछि सु.प.विश्वविद्यालयको उपकुलपति हुनुभो’सँग त्यही बेला सिलगढीमा परिचय भएको थियो । उहाँ डोटी क्याम्पसमा रा.वि.से को रूपमा कार्यरत भई अवधि सकेर फर्किंदै हुनुहुथ्यो । त्यसको ३३ वर्षपछि सु.प. विश्वविद्यालयमा उहाँ उपकुलपति हुँदा रजिष्टा«र भई चार वर्ष सँगै काम गर्ने अवसर प्राप्त भएको थियो । कवि, प्राज्ञ वासुदेव पाण्डेय त्यसबेला डोटी क्याम्पसमा पढ्थे । मैले त्यसबेला खिँचेका फोटोहरू अझै सुरक्षित छन् ।

जिल्ला स्तरमा हुने ओरियन्टेसन सकिएपछि रा.वि.से विद्यार्थीहरूलाई विभिन्न विद्यालयमा खटाइन्यो । रा.वि.से. विद्यार्थी लग्न स्कुलका प्र.अ. र सञ्चालक समितिका अध्यक्षहरू सदरमुकाममा आएका हुन्थे । मेरो ब्याचमा डोटी रा.वि.से गएकाहरूमा पूर्व सचिव आत्माराम पाण्डे, जलवायुविद् मणिरत्न शाक्य, केरलाका पी.ए. थोमस, अशोक अमात्य आदि हुनुहुथ्यो ।

म डोटीको महादेवस्थान गाउँ पञ्चायतको प्रभात मा.वि. देहीमाडौँमा खटिएको थिएँ । हिन्नेकाँडा गाउँको माथि समथर परेको लेकजस्तो अत्यन्त रमणीय बाँज र सल्लाको जङ्गलको बीचमा विद्यालय थियो । त्यहाँबाट डोटी जिल्लाको अधिकांश भूभागसहित तेलेको लेक छर्लङ्ग देखिन्थे । त्यसको अलि पर स्याउलेबाट अग्लो तामागिरि पर्वत देखिन्थ्यो । हिउँदको समयमा घाम अस्ताएर अँध्यारो हुने बेलासम्म पनि पर तामागिरिको टुप्पोमा भने निकै बेरसम्म सूर्यका स्वर्णिम किरणहरूको मनोरम दृश्य देखिन्थ्यो ।

त्यसबेला मुक्तिनाथ शर्मा प्रधानाध्यापक हुनुहुन्थ्यो । शिक्षकहरूमा मेघराज रोस्यारा, उमाकान्त रोस्यारा, सियाराम श्रेष्ठ, गङ्गाबहादुर पछेरा, चन्द्रदेव ओझा, यज्ञराज ओझा, मनिराज जोशी सरहरूको सम्झना छ । स्कुलको कार्यशाला भवनमा बाहिरबाट आएका सात÷आठ जना शिक्षकहरूको सामूहिक खानाको मेस सञ्चालन गरिएको थियो । त्यहीँ आवासको व्यवस्था थियो । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा स्व.कुलराज ओझा र गाउँ पञ्चायतको प्रधानपञ्चमा स्व. पद्मराज ओझा हुनुहुन्थ्यो । विद्यालय सञ्चालनमा स्व.शिवराज ओझाको पनि ठूलो योगदान रहेको छ । साहित्यकार स्व.जयराज पन्त मभन्दा अघिल्लो ब्याचमा त्यीह विद्यालयमा रा.वि.से.मा कार्यरत हुनुभएको थियो । मपछि त्यो विद्यालयमा जानेमा स्व.भीमराज जोशी हुनुहुन्थ्यो ।

रा.वि.से.को नियमअनुसार हरेक स्वयंसेवक विद्यार्थीले ‘हाफ टाइम’सम्म स्कुलमा पढाउने र ‘हाफ टाइम’पछि नजिककाृे गाउँमा गएर कुनै सामाजिक काम गर्नु पर्ने हुथ्यो । म कमर्स पढेको भए पनि विद्यालयमा लेखा विषय थिएन, त्यसैले अंग्रेजी विषय पढाउँथे । मेरो कार्यकालमा विद्यालयमा नियमित पढाउने बाहेक समुदायमा गरेका उल्लेखनीय कामहरूमा गाउँमा दुईओटा प्रौढ कक्षा सञ्चालन, सरसफाइ, शौचालय, स्कुलको छाना छाउने स्लेट ओसार्न तीन धण्टाको दूरीबाट विद्यार्थीहरूको श्रमदान, पानीको मुहानबाट स्कुलसम्म श्रमदानबाट पाइप गाड्ने काम, खेलकुद, सांस्कृतिक कार्यक्रम सञ्चालन र सामान्य विमारीहरू, जस्तै जुका परेको, ज्वरो आएको, दुखेको, पखाला लागेको, आउँ परेको, आँखा पाकेको र सामान्य चोटपटकको लागि एस्पिरिन, पिप्रासाइट, डाइजिन, जीवन–जलले तालिममा सिकाइएअनुसार उपचार गरिएको थियो । हरेक रा.वि.से.लाई प्राथमिक उपचार बाकस र शाही औषधि लिमिटेडको सौजन्यमा विभिन्न औषधिहरूको एक–एक हजार चक्कीको बट्टाहरू जिल्लामा जाने बेला नै दिइएको हुन्थ्यो । ‘मैले डाक्टर नभएमा’ भन्ने किताब पनि लगेको थिएँ । औष्धि दिने हुनाले गाउँतिर कसै–कसैले रा.वि.से. डाक्टर भन्दथे भने कसैले विकासे मास्टर पनि भन्ने गर्दथे ।

राविसेमा डोटीको दिपायल प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा हेमराज पन्तको टोली। तस्वीरहरू सौजन्य: हेमराज पन्त

रा.वि.से. स्वयंसेवकहरूको स्थानीयहरूले पनि निकै सम्मान गर्दथे । त्यसबेला हरेक वर्ष राजा वीरेन्द्रको हिउँदको समयमा पालैपालो पाँचै विकासक्षेत्रको भ्रमण हुन्थ्यो । क्षेत्रीय सदरमुकामहरूमा एक महिनासम्म राजाको मुकाम हुने हुँदा निकै चहलपहल हुन्थ्यो । म रा.वि.से. गएको बेला दिपायलमा राजाको सवारी परेको थिएन । तर अघिल्लो वर्ष राजाले रा.वि.से.हरूसँग भेटेर कुराकानी गरेको कुरा सुनाउँथे ।

विद्यालयमा खटिएका रा.जि.से.माथि सरकारको निगरानीचाहिँ निकै हुने गर्दथ्यो । कतिसम्म भने भारतमा इन्दिरा कांग्रेसलाई हराएर जनता पार्टीका मोरारजी देसाई प्रधानमन्त्री भएपछि स्कुलका हेडमाष्टरलाई जिल्ला प्रशासनबाट एउटा गोप्य पत्र आएको थियो, जसमा भारतमा सरकार परिवर्तन भएपछि त्यस विद्यालयमा कार्यरत रा.वि.से.हरूको गतिविधि के–कस्तो छ जानकारी गराउनु भनी लेखिएको थियो । दलहरू प्रतिबन्धित भई देशमा राजनीतिक गतिविधिहरू शून्यप्रायः भएको त्यो बेलामा सरकारले विद्यार्थीका हरेक गतिविधिलाई हेरिरहेको हुन्थ्यो ।

काठमाडौँजस्तो सुविधा सम्पन्न सहरमा बसेर, पढेर थानकोटको डाँडो नकाटेकाहरूको लागि एक वर्षको गाउँको अनुभव उनीहरूले वर्षौंसम्म पढेको किताबी ज्ञानभन्दा बढी उपयागी थियो । प्रसिद्ध भारतीय पत्रकार तथा लेखक कुलदीप नायर ले एक प्रसङ्गमा लेखेका छन् कि ‘दिल्ली विश्वविद्यालयले सिकाएको भन्दा बढ्ता कुरा मैले जालन्धरको चायवालाबाट सिकेँ’ अर्थात् वर्षौंको कक्षाकोठाको ज्ञानभन्दा समाजबाट सिकेको ज्ञान महत्वपूर्ण हुन्छ भन्ने उनको आसय हो । यो कुरा रा.वि.से.को सन्दर्भमा पनि लागू हुन्छ जस्तो मलाई लागेको छ । म स्वयं ग्रामीण पृष्ठभूमिको व्यक्ति भएर पनि एक वर्षको बसाइले नौलो अनुभव प्राप्त भयो । सुदूरपश्चिम भिन्न भाषा, पहिरन र सामाजिक वातावरण, जाँत–पर्वहरूले गर्दा बाहिरबाट आउने विद्यार्थीहरूलाई कुनै अर्कै दुनियाँमा आएजस्तो हुन्थ्यो । एक वर्षपछि फर्कंदा छुट्टै अनुभव लिएर फर्केका हुन्थे ।

विद्यार्थीहरूका लागि त त्यो कार्यक्रम उपयोगी थियो नै प्राध्यापकहरूका लागि पनि महत्वपूर्ण थियो । देशका ७५ जिल्लामा कार्यरत विद्यार्थीहरूलाई पु¥याउन, बीचमा एक पटक अनुगमान गर्न र अवधि सकिएपछि जिल्ला–जिल्लाबाट ल्याउन प्राध्यापकहरू खटिएका हुन्थे । संसारका ठुला–ठुला विश्वविद्यालयहरूमा उच्चशिक्षा पाएका तर देशभित्र नघुमेका प्राध्यापकहरूको लागि रा.वि.से.को कारणले जिल्ला–जिल्लामा हुने पैदल भ्रमण निकै उपयोगी थियो ।

रा.वि.से स्वयंसेवकहरूलाई निर्वाह भत्ता वापत हिमाली जिल्लामा मासिक रु. ३०० पहाडी जिल्लामा रु. २५० र तराईका जिल्लामा रु २०० दिने व्यवस्था थियो । त्यो पैँसाले त्यसबेला त्यहाँ बस्दाको खर्च पुग्थ्यो । आउने जाने सबै खर्च विश्वविद्यालयले नै ब्यहोथ्र्यो । रा.वि.से स्वयंसेवकहरूलाई छुट्टै पहिचान दिन खैरो रङ्गको घरेलु कपडाको ड्रेसको पनि व्यवस्था गरिएको थियो ।

रा.वि.से.का थुप्रै सम्झनाहरू छन् । जिल्लामा खटाउनुभन्दा पहिले खड्पुमा तालिमको बेला सबैको बस्ने, खाने सम्पूर्ण व्यवस्था भित्रै हुन्थ्यो । हाम्रो क्याम्पको खानाको जिम्मा लिएको ठेकेदारले दिने खानाको मात्रा र गुणस्तर राम्रो थिएन । पटक–पटक भन्दा पनि वास्ता गरेको थिएन । हरेक तेस्रो छाकमा २५० ग्राम मासु ख्वाउने शर्त रहेछ । एक दिन केही विद्यार्थीहरूले बजारबाट तराजु ल्याएर ठेकेदारकै सामुन्ने मासु जोख्दा एकजनाको भागमा १५० ग्राम मात्रै पर्ने रहेछ । यसबारेमा माथि सिकायत गर्छौं भनेर तर्साएपछि गल्ती स्वीकार गरी पूरै मात्रा मासु दिन थालेको थियो ।

क्लास नभएको समयमा आसपासका गाउँहरूमा आउने जाने गरिन्थ्यो । एकपटक शुक्रवारको दिन हेडसरले मलाई लगेर गिरिचौका गाउँ जाने योजना बनाउनुभो । त्यहाँ जान साईली गाड ९ खोला ० तरेर जानु पर्दथ्यो । पुल थिएन, एउटा मोटो रूख ढालेर साँधु बनाइको थियो । खोलामा पुगेपछि हेडसरले ‘म अगाडि जान्छु तिमी दायाँ–बायाँ कतै नहेरी सन्तुलन बनाउँदै सरासर मेरो पछि–पछि आऊ’ भन्नुभो । त्यति लामो साँधु त्योभन्दा पहिले म तरेको थिएनँ । निकै तल गहिरो खोला सुसाएको माथि हल्लिने साँधु देखेपछि म निक्कै डराएँ । तैपनि भन्नचाहिँ केही पनि भनेनँ ।

हेडसर अगाडि फटाफट दायाँ–बायाँ कतै नहेरी साँधुको बीचमा पुग्दा सायद दुईजनाको भारले होला साँधु हल्लिन थाल्यो । त्यसपछि हेडसर साँघुको बीचमा थचक्क बस्नुभो र पछाडि नफर्की मलाई जोरले कराउँदै ‘अगाडि नआऊ, त्यहीँनेर बस’ भन्नुभो । चिप्लिने डरले मैले जुत्ता हातमा समातेको थिएँ । ‘म पारि पुगेपछि मात्र आउनू’ भनी उहाँ विस्तारै जानुभो । अनि बल्ल साँधु हल्लिन बन्द भो । अनि म विस्तारै डरैडरले पारि पुगेँ । भोलिपल्ट फर्किंदा मैले साँधुबाट जान मानेनँ । हेडसर साँघुबाटै तर्नुभो । म तल खोलामा गई, अर्को मान्छेसँग खोला तराइमागी उकालो उक्लेर माथि आइपुगेँ । साइँलीगाडमा पानी धेरै हुन्छ र माछाको लागि पनि निकै प्रसिद्ध छ । त्यसबेला धनगढी–डडेल्धुरा राजमार्ग बन्दै थियो । भासुको भीर फोर्नलाई डायनामाइट प्रयोग हुन्थ्यो । पहाड फोर्न प्रयोग हुने डायनामाइट ठेकेदारमार्फत बिक्री भई गाउँतिर चोरीछिपी माछा मार्नमा प्रयोग हुन्थ्यो । सेती नदी र साइँलीगाडमा पनि डायनामाइट पड्काएर गाउँलेहरू माछा मार्थे । एउटा डायनामाइटको मूल्य पाँच रुपैयाँ थियो ।

स्कुलको माथि डाँडामा तित्रा, कालिज पाइने हुनाले सिकारीहरू आइरहन्थे । मेघराज रोस्यारा सरसँग लाइसेन्सी बन्दुक थियो । तर उहाँले सिकार गर्न त्यसको प्रयोग गरेको मलाई सम्झना छैन । एकपटक स्कुल विदा भएको बेला मलाई सिकार कसरी गर्दा रहेछन्, हेर्न इच्छा भयो । मेरै अनुरोधमा उहाँसँग तित्राको सिकार गर्न गएँ । तित्रा कराएको सुनिने, तर कहाँनेर हो भन्ने थाहा नहुने । धेरै बेरसम्म ढुकेर बस्दा पनि तित्रा फेला नपरेपछि फर्किंने विचार ग¥यौँ । भरेको बन्दुक के फिर्ता लग्नु एकपटक मलाई पड्काउन दिनोस् भन्दा उहाँले बन्दुक पड्काउने तरिका सिकाएर बन्दुक मेरो हातमा दिनुभो । पछि मैले भुइँमा पल्टेर बन्दुक पड्काएको थिएँ । पड्किँदा बन्दुकको कुन्दाले काँधमा धकेलेको जस्तो भएको थियो । मैले बन्दुक पड्काएको पहिलो र सायद अन्तिम पटक पनि त्यही नै हो ।

जाडो महिनामा हिउँ परेपछि क्लास खालि भएका सरहरू र विद्यार्थीहरू बाँजको रूखमुनि चौरमा आगो तापेर बस्थे । म त्यहाँ भएको बेला पनि एकचोटी निकै हिउँ परेको थियो । बर्खामा स्कुल आसपास बक्लो कुहिरो लागेको हुन्थ्यो ।

हिजोआज स्कुल, क्याम्पसमा पढाउने शिक्षक–शिक्षिकालाई सर, मेडम भन्ने आम चलन छ । पहिले शहरतिरका स्कुल, कलेजहरूमा सर, मेडम भनिन्थ्यो तर दूरदराजका गाउँका स्कुलहरूमा माष्टरजी या गुरुजी भन्ने चलन थियो । रा.वि.से.का विद्यार्थीहरूसँगै सर, मेडम भन्ने चलन गाउँ–गाउँमा पुगेको हो ।

रा.वि.से. कार्यक्रमका धेरै फाइदाहरू थिए । एकतिर युवावर्गमा देशको लागि केही गर्नु पर्दछ भन्ने स्वयंसेवकको भावनाको विकास भएको थियो भने अर्कोतिर नेपालको सामाजिक, सांस्कृतिक आर्थिक विविधता प्रत्यक्ष जान्ने अवसर मिलेको थियो । काठमाडौँका रैथाने विद्यार्थीहरूको लागि जीवनमा पहिलो पटक धरबाट निस्केर प्लेनबाट सुदूरपश्चिम उत्रिँदा अंग्रेजी दन्त्यकथाको ‘एलिस इन वान्डरल्याण्ड’ जस्तै अनुभूति हुन्थ्यो ।

अहिले देश संघीय ढाँचामा गई विभिन्न प्रदेशहरूमा विश्वविद्यालय स्थापना भइरहेका छन् । विकसित मुलुकहरूमा युवाहरूमा ‘भोलेन्टरिज्म’ अर्थात् ‘स्वयंसेवा’को भावनाले सामाजिक कार्यमा प्रेरित गर्नु पनि उच्चशिक्षाको लक्ष हुन्छ । नेपालमा पनि पुनः यस्तो कार्यक्रमको आवश्यकता छ ।

२०३४ सालमा डोटीको सिलगढीमा नयाँ र पुरानो ब्याचका राविसे विद्यार्थी।

रा.वि.से.का विद्यार्थीहरू समय–समयमा एकअर्का साथीको विद्यालयमा घुम्न जाने गर्दथे । अधिकांश माध्यमिक विद्यालयमा रा.वि.से.हरू हुन्थे । त्यसैले खान वस्न समस्या हुन्थेन । कैलाली, कञ्चनपुर, बैतडी, दार्चुलातिर खटिएकाहरू नैनीताल अवश्य पुग्थे । डोटी, अछाम, बाजुरा, बझाडमा कार्यरतहरूको पहिलो रोजाई स्कुलका विद्यार्थीहरूको टोली लगेर खप्तड धुम्ने हुन्थ्यो । त्यसबेला खप्तडस्वामी पनि जीवितै थिए । एकअर्काको स्कुलमा जाने, नयाँ–नयाँ अनुभव सुनाउने रमाइलो वातावरण हुन्थ्यो । पहाड कहिल्यै नदेखेका तराईंका विद्यार्थीहरूको लागि पनि रा.वि.से. नौलो अनुभव हुने नै भयो ।

अवधि पूरा गरेर फर्कंदाचाहिँ चार दिन हिँडेपछि धनगढी त्यसपछि गौरीफण्टामा रेल चढी लखनऊ, गोरखपुर रक्सौल, वीरगञ्जहुँदै एक हप्तामा काठमाडौँ पुगिएको थियो । नेपालबाटै काठमाडौँ आउने बाटो थिएन । त्यसको केही दिनमा तेस्रो सेमेष्टरको पढाइ सु्रु भएको थियो ।