दश महिने समीक्षा गर्दै नेपालले भने, ‘समयको आवाज बुझ्न सक्ने पार्टी ठुलो भएको छ’

दश महिने समीक्षा गर्दै नेपालले भने, ‘समयको आवाज बुझ्न सक्ने पार्टी ठुलो भएको छ’

धनगढी । नेकपा एकीकृत समाजवादी पाटीका अध्यक्ष माधव कुमार नेपालले समयको आवाज बुझ्न सक्ने पार्टी ठुलो शक्ति भएको बताएका छन् । सोमबार बिहान धनगढीमा समाजवादी प्रेस सङ्गठन नेपाल कैलाली शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्दै आफ्नो पार्टीको दश महिने यात्रा स्मरण गरेका हुन् । 

अध्यक्ष नेपालले नेकपा एस दश महिनाको अवधिमा देशका ७७ ओटै जिल्लामा पुगेको बताउँदै अहिलेको चुनावमा जुन पार्टीले जनताको नाडी छामेको छ । समयको आवाज बुझेको छ । त्यही पार्टी ठुलो भएको बताएका छन् । ‘‘अहिलेको अवस्थामा जुन पार्टीले जनताको नाडी छामेको छ । समयको आवाज बुझेको छ । त्यही पार्टी ठुलो भएको छ । र हामी पनि त्यही भूमिकामा छौँ । किनकि हामी पनि कुनै दुलो बाट आएका हैनौ । हाम्रो लामे इतिहास छ । अहिले कहीँ नयाँ युवाहरू पनि आएका छन् । उनीहरूले आफ्नो कार्यक्रम र आँटका आधारमा विजयी भएका छन् त्यसलाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ ।” उनले भने । 

यस्तै, अध्यक्ष नेपालले हालसालै सम्पन्न स्थानीय तहको निर्वाचनमा अरूमाथि विश्वास गरेको ठाउँमा भन्दा एक्लै गएको ठाउँमा राम्रो परिणाम हात पार्न सफल भएको बताएका छन् । ‘‘हामीले अरूमाथि विश्वास गरेको ठाउँ भन्दा एक्लै गएको ठाउँमा जित हासिल गरेका छौँ । महानगर, उपमहानगर मा सिङ्गो प्यानल नै विजयी भएका उदाहरण छन् ।  अहिलेको चुनावको नतिजा हेर्दै हामी आफ्नो शक्तिमा भरोसा गर्दै आउने चुनावको तयारीमा लागेका छौँ । तर एक्लै छैनौँ । सहकार्यमा छौँ भन्दैमा अरूमाथि ढुक्क भएर पनि बस्दैनौँ ।” उनले भने । 

त्यस्तै, अध्यक्ष नेपालले पछिल्लो समय नेपालमा विदेशी शक्तिको चलखेल बढेको देखिएको भन्दै एमसीसी र एमपीपीमा आफ्नो पार्टीको धारणा एमालेभन्दा फरक रहेको बताएका छन् । ‘‘हामी कुनै पनि सैन्य रणनीति, क्याम्पमा भाग लिन सक्तैनौ । व्याख्यात्मक टिप्पणी मा उल्लेख गरिए भन्दा फरक भए एक महिने सूचना निकालेर छोड्न पनि सक्छौँ ।” उनले भने । 
नेता नेपालले अहिलेको संसद् काल सम्म गठबन्धन चल्ने र यसपछि के हुन्छ भन्ने विषयमा भने भविष्यका ज्योतिषीलाई सोध्नु पर्ने बताउँदै ‘विन-विन’ हुने स्थानमा मात्रै गठबन्धन सँग मिल्ने र एक्लै विजयी हुने सम्भव भएको ठाउँमा भने एक्लै लड्ने तयारी थालिएको बताए । 

त्यस्तै, अध्यक्ष नेपालले आउँदो चुनाव अघि विशेष गरी माओवादी र अन्य पार्टीहरू सँग पनि एकता नहुने र एकता हुन्छ की भनी थर्कमान भएकाहरूलाई मुटुको धड्कन नबढाएर बस्न आग्रह गरेका छन् । 

यद्धपी नेता नेपालले सुदूरपश्चिम प्रदेशमा अर्को एक पार्टीको सहयोग पाउने बित्तिकै सरकारका जाने तयारीमा रहेको र सुदूरपश्चिम प्रदेश सरकारको बजेट विवाद बारे आफूलाई केही थाहा नभएको र नेतालाई मुख्य मुख्य काम बारे मात्रै थाह हुने र चासो राख्ने अभिव्यक्ति दिएका छन् ।