वैदेशिक रोजगारीबाट आम्दानी भएको पुजी स्वदेशमै परिचालन गर्न नीति बनाएका छौँ: मन्त्री कुँवर

वैदेशिक रोजगारीबाट आम्दानी भएको पुजी स्वदेशमै परिचालन गर्न नीति बनाएका छौँ: मन्त्री कुँवर

धनगढी । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफू मन्त्री भईसके पश्चात वैदेशिक रोजगारीमा गएर नेपाल फर्किएका व्यक्तिहरूको पुजी स्वदेशमै परिचालन गर्न विशेष नीति ल्याएको बताएका छन् । सोमबार बिहान धनगढीमा समाजवादी प्रेस संगठन नेपाल कैलाली शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकाल सम्हाले देखी मन्त्रालयले गरेका र अवगर्ने योजना बारे जानकारी गराउँदै मन्त्री कुँवरले आफू सम्मिलित मन्त्री परिषद्को दोस्रो बैठकबाट सो नीति बनाएको बताएका हुन् ।

मन्त्री कुँवरले यो भन्दा पहिले नीतिगत समस्या रहेको स्विकार्दै वैदेशिक श्रम गरेर र सिप सिकेर आएका नागरिकहरूलाई स्वदेशमै कसरी रोजगारी दिन सकिन्छ ? र उनीहरूको श्रम र सिपको कसरी संरक्षण गर्ने भन्ने विषयमा नीति पास गरेको बताए । 

उक्त नीतिमा गैर सरकारी संघ संस्थाहरू, वैदेशिक रोजगार दाता देशहरू र अन्तर्राष्ट्रिय संघ संस्थाहरूलाई पनि सहभागी गराउने उल्लेख गरिएको मन्त्री कुवरले जानकारी दिए । 

नीति बने पछिका फाइदाबारे जानकारी गराउँदै मन्त्री कुँवरले भने, ‘‘नीतिलेले विशेष गरी वैदेशिक रोजगारीमा गई नेपाल फर्किएका दाजुभाइ दिदी बहिनीहरूले खाली बस्न नपरोस्, श्रम गरी ल्याएको पैसाको सदुपयोग गरी उद्यमशीलतामा कसरी लग्न सकिन्छ भन्ने विषयमा यसले काम गर्ने छ । भने नीति पास भई सकेकोले अब कार्यान्वयनको दिशा तर्फ उन्मुख हुने जानकारी गराउँदछु ।”