राप्रपाले फागुन ७ गतेदेखि हिन्दु राष्ट्र पुनःस्थापनाका लागि संघर्ष गर्ने

राप्रपाले फागुन ७ गतेदेखि हिन्दु राष्ट्र पुनःस्थापनाका लागि संघर्ष गर्ने

धनगढीः राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन ७ गतेदेखि हिन्दु राष्ट्र पुनःस्थापनाका लागि संघर्ष गर्ने भएको छ। राप्रपाका सह महामन्त्री चन्द्रबहादुर गुरुङले हिन्दु राष्ट्र पुन स्थापनाको पार्टीले संघर्ष गर्न लागेको बताए। 

सह महामन्त्री गुरुङले राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै  हिन्दूराष्ट्र पुनःस्थापनाको लागि राप्रपाले अहिले देशभरि जागरण अभियान सञ्चालन गरिरहेको जानकारी दिए।

यस अघि राप्रपाले नेपाललाई हिन्दु राष्ट्र स्थापनाको लागि निर्णायक आन्दोलन गर्ने उनको दाबी छ । नेपाली जनताको चाहाना अनुरूप हिन्दु राष्ट्र स्थापना गराउन राप्रपा सडकमा जान बाध्य भएको उनले बताए।

वर्तमान सरकारका कामप्रति अहिले नै तारिफ र गुनासो गर्ने समय नभएको राप्रपा अहिले मौन रहेको उनले बताए। तर स्वास्थ्य क्षेत्रमा सरकारले राखेको अडान र सिन्डिकेटको अन्त्य र सुनकाण्डका बारेमा भने केही असन्तुष्टि उनको छ। स्वास्थ्य क्षेत्रका मागका सम्बन्धमा लिएको अडानलाई छोडेर सरकारले अन्यमा हुबहु स्वीकार गरेको प्रति आशंका गर्ने ठाउँ रहेको उहाँले बताए। 

यस्तै सुन काण्ड र सिण्डिकेटकाण्ड पनि अन्यमा धमिलिएर जानुको अर्थ भ्रष्टचारीहरुको चलखेल बढेको हो की भन्ने आशंका रहेको उनले बताए। 

वर्तमान सरकार दुई तिहाइको दम्भ तिर उन्मुख भइरहेको आरोप नेपाली कांग्रेसले लगाउने गरेको छ। तर राप्रपाका सह महामन्त्री गुरुङको बुझाइ भने फरक देखिएको छ। यसअघि बहुमत प्राप्त गरी बनेको नेपाली कांग्रेसको सरकारले वर्तमान सरकारको भन्दा बढी बहुमतको दम्भ देखाएको इतिहास रहेको बताए। 

सरकारले अहिले नै बहुमतको दम्भ देखाएको भन्न नमिल्ने आशय उनको थियो । नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई समृद्धिको लागि काम गर्न कम्तीमा एक वर्ष समय दिनु पर्नेमा उनले जोड दिए। 

पार्टी नेतृत्वले संगठनलाई बलियो बनाउन भूमिका नखेलेकाले राष्ट्रिय प्रजातन्त्र पार्टी कमजोर बनेको टिप्पणी उनले गरे। अहिले स्थानीय तह देखिनै संगठनलाई मजबुत बनाउन पार्टी लागी परेको उनले जानकारी दिए। 

राष्ट्रिय प्रजातन्त्र पार्टीप्रत्री अझै जनताको विश्वास नटुटेकाले देशको ठुलो पार्टी बन्ने र हिन्दु राष्ट्र तथा राजसंस्थाको स्थापना हुने दाबी उनको छ। 
शनिवार राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कैलालीको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । 

कार्यसमितिको नयाँ नेतृृृत्वमा अभिशेख नाथ चयन भएका छन्। 
बाकी पदादीकारीको चयन प्रक्रिया भने नाथको अध्यक्षतामा केही दिनमा विस्तार हुने जनाइएको छ।