दार्चुलामा मतदान स्थल हेरफेर हुने, यी हुन थप हुन सक्ने मतदान स्थलहरु

दार्चुलामा मतदान स्थल हेरफेर हुने, यी हुन थप हुन सक्ने मतदान स्थलहरु

दार्चुलामा मतदाताको सहजताका लागि मतदान स्थल हेरफेर हुने भएका छन् । भौगोलिक विकटताका कारण मतदाताहरूलाई मतदान गर्न असहज हुने गरेकाले पायक पर्ने ठाउँमा मतदान स्थल थप तथा हेरफेर गर्न लागिएको हो । बिहीवार बसेको जिल्ला मतदानस्थल र मतदान केन्द्र सिफारिस समितिको बैठकले मतदान स्थल पुनरावलोकनबारे सरोकारवालासँग छलफल गरेको छ । जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदीप धामीका अनुसार सम्बन्धित पालिकाका वडाका मतदाताको सहजताका लागि मतदानस्थल हेरफेर गर्न लागिएको छ । यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरिएको छ ।

निर्वाचन अधिकारी धामीले भने, ‘सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा अपायक परेका र भौगोलिक कठिनाइ रहेका मतदानस्थललाई कार्यदलले स्पष्ट किटान गरेपछि हेरफेर गर्नेछौ ।’ उनले आगामी निर्वाचनमा सबै मतदातालाई सहज र मतदान अधिकारबाट वञ्चित हुन नदिन पनि मतदानस्थल पुनरावलोकन गर्न लागिएको बताए । अपिहिमाल गाउँपालिकामा १ मतदानस्थल थपको माग गरिएको छ । अपिहिमाल गाउँपालिकाको वडा नम्बर ३ मा हिमालय आधारभूत विद्यालय पाथा र दुधिला आवि झुस्कु मतदानस्थल कायम गरिएको भएपनि मतदाताले घण्टौ हिडेर मतदानस्थल पुग्नुपर्ने बाध्यता छ । ३ सय बढि मतदाताको सहजताका लागि त्यहाँ पर्ने सुर्मा भवानी आवि थुम्तीमा मतदानस्थल थप गर्नुपर्ने विषय छलफलमा उठेको छ । यस्तै लेकम गाउँपालिका–४ मा कायम गरिएको गल्लाकेदार मावि खरकडा स्थलबाट टुक्र्याई तमैराज आवि झलातीमा थप गर्न माग गरिएको छ । यस्तै वडा नम्बर १ को लटिनाथ मावि विथ्थडचौणमा पनि सम्भव भए थप गर्न भनिएको छ । जिल्लाको व्याँस गाउँपालिका–१ मा रहेको कैलासपति आधारभुत विद्यालय छाङ्गरुको भवन जीर्ण भएकाले त्यहाँ कायम गरिएको मतदान स्थललाई स्वास्थ्यचौकी भवनमा सार्न माग गरिएको छ । यस्तै दुहुँ गाउँपालिका–४ मा रहेको धारीपाटा मावि धारी मतदानस्थललाई यथावत राखी एउटा महादेव आवि फारामा थप गर्न सुझाइएको छ । यस्तै जिल्ला सदरमुकामस्थितको महाकाली नगरपालिका–३ मा रहेको स्वास्थ्य चौकी भवन बाँजको मतदानस्थललाई हुनैनाथ मावि बाँझमा सार्न माग गरिएको छ । स्वास्थ्य चौकी भवनमा कम्पाउण्ड नभएकाले सुरक्षालाई मध्यनजर गर्दै सार्न भनिएको हो । बैठकमा सुरक्षा समिति, राजनैतिक दल, स्थानीय तहका प्रमुखहरुको सहभागिता रहेको थियो । भौगोलिक विकटता, सुरक्षा चुनौती, जीर्ण संरचनालाई मध्यनजर गर्दै सम्बन्धित स्थानीय तहको सिफारिस बमोजिम आगामी निर्वाचनका लागि मतदान स्थल हेरफेर गरिने जनाइएको छ । निर्वाचन आयोगले आगामी मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न सिफारिस गरेको छ । सरकारले निर्वाचनको मिति भने तोकेको छैन् । दार्चुलामा २०७९ को स्थानीय निर्वाचनमा एक सय १० मतदान स्थल र एक सय ३९ मतदान केन्द्र कायम गरिएका थिए ।