ज्यान जोगाउन खटिएका हवलदार धामीको धन्न ज्यान जोगियो, यसरी गरिएको थियो उद्धार ?

ज्यान जोगाउन खटिएका हवलदार धामीको धन्न ज्यान जोगियो, यसरी गरिएको थियो उद्धार ?

धनगढी । घटना हो यही साउन ५ गते शुक्रवार दिउँसोको । डोटी जिल्लाको सायल गाउँपालिका स्थित प्रहरी चौकी डौडमा कार्यरत प्रहरी हवलदार गगनसिंह धामीलाई अचानक स्वास्थ्यमा खराबी छाती दुख्ने, पेट बाउँडिने र उल्टी हुने समस्या आई लाग्यो ।  

उनी एक राष्ट्र सेवक कर्मचारी त्यो पनि प्रहरी भएकोले उनको सधैँ जसो सबेरै उठ्नुपर्ने र समयमै डिउटीमा तैनाथ हुनुपर्ने हुन्छ । धामी कार्यरत प्रहरी चौकी डौडमा प्रहरी सहायक निरीक्षक (असै) को कमाण्डमा पाँच जना कार्यरत थिए । 

त्यो दिन पनि धामी बिहानै उठेर प्रहरीको बिहानी पख तोकिएको काम सँगै सामान्य व्यायाम सक्काएर सायल गाउँपालिकाकै वडा नं. २ मा बस्ती जोखिममा छ । भन्ने पूर्व जानकारी अनुरूप गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी सहितको टोली बिहान नौ बजेको समयमा अनुगमनका लागी हिँडेको थियो । सोही टोलीमा प्रहरी हवलदार धामी र जवान पनि गएका थिए । 

करिब साढे तिन घण्टा हिडीसकेपछि साढे १२ बजेको समयमा एक्कासि हवलदार धामीको पेट बाउँडिने र छाती दुख्ने समस्या आई लाग्यो । त्यो अवस्थामा हिँडेर गएको ठाउँमा यातायातको व्यवस्था त हुनै कुरै भएन । नजिकमा स्वास्थ्य संस्था समेत नरहे छ ।

अनुगमन टोलीमा रहेका गाउँपालिका अध्यक्ष जनप्रतिनिधि हुनु पूर्व स्वास्थ्य क्षेत्रमा केही अनुभव प्राप्त व्यक्ति रहेछन् र उनले हवलदार धामीलाई आइलागेको उक्त समस्या आधारमा प्राथमिक उपचार को विधि अपनाए छन् । तर त्यो प्राथमिक उपचारले धामीको सायद थोरै मनोबल त बढ्यो होला । तर दुखाई भने बढ्दै गइरहेको थियो । त्यहाँ गाउँपालिकाका स्वास्थ्य कर्मीहरू समेत बोलाएर केही सञ्चो हुन्छ कि भनी प्रयास त गरियो तर आषातित असर भने त्यसले देखिएन । 

धामीको स्वास्थ्य अवस्थामा केही सुधार नआए पछि गाउँपालिका अध्यक्षले जिल्ला प्रहरी कार्यालय डोटीमा फोन मार्फत जानकारी गराएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवम् निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले बताए । 

जोशीका अनुसार गाउँपालिका अध्यक्षले तिन देखी चार घण्टाको बाटो हीने पछि मात्रै यातायात भएको ठाउँ सम्म पुगिने र राम्ररी हिँड्न मिल्ने बाटो समेत नभएको जनकारी जिल्ला प्रहरी कार्यालय डोटीमा गराएका रहेछन् । त्यस्तै, अध्यक्षले हवलदार धामीको पेट बाउँडिएको, छाती बेस्सरी दुखेको र उल्टी समेत भएकोले स्वास्थ्य उपचारको लागी अन्य विकल्प अपनाउन आग्रह गरेको जोशीले बताए । 

गाउँपालिका अध्यक्षले हृदयाघातको जस्तो लक्षण छ । सक्दो चाँडो हवलदार धामीलाई तत्काल अस्पतालमा पुराउनु पर्छ भनिसकेपछि प्रहरी निरीक्षक जोशीले जिल्ला प्रशासन कार्यालय डोटीकी प्रमुख जिल्ला अधिकारी (सिडीयो) कल्पना श्रेष्ठ लाई जनाकारी गराए । (सिडिओ) ले गृह मन्त्रालयको कन्ट्रोलमा फोन गरेर जानकारी  गराइन् । भने प्रहरी निरीक्षक जोशीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोला रावल लाई जानकारी गराएर प्रहरी हेड क्वाटर काठमाडौँमा तत्काल उपचारका लागी आवश्यक व्यवस्था मिलाइदिन समेत आग्रह गरेको बताए । 

त्यस पश्चात् हेड क्वाटरबाट गृह मन्त्रालयले माग गरेको चिठी पठाउने काम गरियो भने चिठी पुग्न समय लाग्न सक्ने अवस्थालाई मध्यनजर गर्दै गृह मन्त्रालयका अधिकारीहरूलाई मौखिक रूपमा उद्धारको लागी व्यवस्था मिलाउन आग्रह गरिए पछि नेपाली सेनाको हेलिकप्टर आउने तय भयो । 

यो व्यवस्थापन र प्रक्रिया गर्दा सम्मन् तिन बजिसकेको थियो । केही समय मौसम खराबीका कारण हेलिकप्टर उड्न सकेन भने केही समय हेलिकप्टर को लागी रुट पत्ता लगाउन गुगल लोकेसन पत्ता लगाउन समय खर्च भयो ।  यो सबै समन्वय गर्दा गर्दै घटना स्थलमा भने हेलिकप्टर साँझ चार बजेर ४३ मिनेटमा पुग्यो । हेलिकप्टर डोटीका लागी उड्दा सम्पर्क व्यक्ति प्रहरी निरीक्षक जोशी र घटना स्थलमै रहेका प्रहरी जवानलाई राखिएको थियो । हेलिकप्टर पुगिसक्दा सम्म त्यहाँ बिरामीलाई अस्पताल लग्न गर्नुपर्ने पूर्ण तयारी गरिएको थियो । 

बिरामी राखेर हेलिकप्टर पुगेको दुई मिनेटमा अर्थात् चार पैचालीस बजे घटना स्थलबाट हेलिकप्टर टेकअफ भएर पाँच बजेर २७ मिनेटमा हेलिकप्टर नेपालगञ्ज पुग्यो । 

नेपालगञ्ज मेडिकल कलेज पठाउने निधो गरिएको भए पनि त्यहाँ मुटुको डाक्टर नभएको जानकारी पाएकोले विमानस्थलबाटै भेरी अस्पताल पाठाईए छ । त्यहाँ गएर चेकजाँच गर्दा (माइनर हार्ट अट्याक) आएको रहेछ भन्ने थाहा भयो । उनको (बाइपास) अप्रेसन गर्नु पर्ने स्थिति आयो तर अप्रेसन लेटरमा दस्तखत गर्न आफन्त चाहिने रहेछन् । आफन्त सबै धनगढी भएकोले त्यहाँ बिरामी हवलदार सँगै रहेका प्रहरी जवान नरेन्द्र भण्डारी साक्षी बसेर दस्तखत गरे । अनि अप्रेसन भएको प्रहरी निरीक्षक जोशीले सुनाए । 

शल्यक्रिया पश्चात् हवलदार धामीको अवस्था सामान्य रहेको छ । उद्धार कार्यमै अस्त व्यस्त भएका प्रहरी अधिकारीले हवलदार धामीका घर परिवार तथा आफन्तलाई जानकारी गराउन भने पाएनछन् । प्रहरी निरीक्षक जोशीले बताए अनुसार प्राथमिकता उद्धार गर्नु, उपचार गर्नु नै रहेको र डाक्टरले (मेजर हार्ट अट्याक) आएको भए भने नबच्ने सुनाउँदा एक छिन जोस्सीएका आफन्तले सबैलाई धन्यवाद दिएछन् ।  

ज्यान जोगाउन सकेकोमा सबै उद्धारमा खटिएका व्यक्ति पनि खुसी, आफ्नो परिवारको एक अब्बल, कर्मठ राष्ट्र सेवक सदस्यको ज्यान जोगिएकोमा घर आफन्तको मुहारको खुसी महसुस गर्नुस् त ?

तर, हेर्नुस् त ! कस्तो नियति मान्छेलाई कतिखेर के आइ लाग्ने हो थाहा नै नहुँदो रहेछ ।  यो भन्दा पहिले कहिल्यै पनि स्वास्थ्य समस्याका कारण औषधि समेत खानु नपरेका धामी सायलका नागरिकहरुले बाढी पहिरोले गर्दा ज्यान जोखिममा नपरोस भन्ने धेयका साथ कहाँ जोखिम छ भनी अनुगमनमा खटिएका थिए ।

धन्न अरुको ज्यान जोगाउन खटिएका धामीको आफ्नै ज्यान जानबाट जोगियो ! हाम्रो देश पनि अन्य राष्ट्रहरू जस्तै विकसित भए बिरामीले यतिका घण्टा तड्पिनु पर्ने थिएन होला सायद।

हामीलाई प्राप्त जानकारी अनुसार भेरी अस्पतालमा उपचाररत धामी आइतबार देखी सोमबार सम्म अस्पतालबाट पनि डिस्चार्ज हुने छन् । हाम्रो तर्फबाट पनि प्रहरी हवलदार धामीलाई स्वास्थ्य लाभको कामना !