भारतमा थप १६ हजार बढीमा कोरोना सङ्क्रमण पुष्टि

भारतमा थप १६ हजार बढीमा कोरोना सङ्क्रमण पुष्टि

विश्वभर हाल पछिल्लो समय कोरोना सङक्रमण बढ्दै गएको छ । छिल्लो २४ घण्टामा भारतमा थप  १६ हजार आठ सय ६६ जना कोरोना संक्रमण पुष्टि भएको छ। देशका विभिन्न भागमा १६ हजार आठ सय ६६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले  जनाएको छ । 

भारतमा लगातार तीन दिनसम्म सङ्क्रमितको सङ्ख्या २१ हजारभन्दा माथि पुगेको थियो । आइतबार  २० हजार बढीमा सं‌क्रमण पुष्टि भएको थियो भने आज १६ हजार ८ सय ६६ जना सङ्क्रमित थपिएका  छन्।    हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाख ८८ हजार पुगेको छ।

तीमध्ये एक लाख ५२ हजार दुई सय सक्रिय सङ्क्रमित छन् । सोही अवधिमा १८ हजार एक सय ४८ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोनाबाट सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चार करोड ३२ लाख २८ हजार पाँच भन्दा बढी पुगेको छ ।    मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमणबाट ४१ जनाको मृत्यु भएको छ ।

यसैसँगै कोरोनाबाट पाँच लाख २६ हजार ७४ जनाको मृत्यु भएको छ । महामारी सुरु भएयता ८६ करोड ९० लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । 

सोहीक्रममा हालसम्म दुई अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ ।