सागर ढकालले डडेल्धुरामा भने  देउवालाई आराम दिन आएको हुँ

सागर ढकालले डडेल्धुरामा भने  देउवालाई आराम दिन आएको हुँ

डडेल्धुरा  । प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं ’ भन्दै पाँच वर्ष अघि प्रश्न गरेका सागर ढकाल आगामी निर्वाचनमा देउवासँगै चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्।

गुल्मीका सागर ढकालले बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै आगामी प्रतिनिधिसभाको चुनाव डडेल्धुराबाट लड्ने घोषणा गरेका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै उनले मुलुक हाँक्न ४० वर्ष मुनिका युवा आवश्यक रहेको बताए। उनले आगामी संसदीय निर्वाचनमा ‘थोरै नयाँ होइन पूरै नयाँ’ अभियानसहित तीन वटा मुद्दा लिएर अगाडि बढेको बताए।

जसमा वातावरण विकाससँग सँगै संस्कार संस्कृति, युवाहरूको प्रत्यक्ष नेतृत्व बुवाआमाबाट सल्लाह, हजुरवुवा हजुरआमाहरूलाई स–सम्मान आराम र विकास र संविधानमा उल्लेख गरिएका बुँदाहरू कार्यान्वयन छन्।

शेरबहादुर देउवालाई आराम दिन आएको उनी बताउँछन्। केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड लगाएतलाई आराम दिन देशभरि युवा उठाउने अभियान सुरु गरेको उनको भनाइ छ।

व्यवस्था पाइसकेकोले अवस्था परिवर्तन गर्ने समय आएको उनको भनाइ छ। डडेल्धुराबाट देशभरि सन्देश दिन आफूले उम्मेदवारी दिएको उनले बताए। सांसद बन्नको लागि मात्रै हो भने शिक्षित सहरबाट चुनाव लड्न सक्ने उनको तर्क छ। डडेल्धुरामा मात्रै आगो बाल्न सके देशभरि फैलिन सक्ने उनको दाबी छ।

उनी भन्छन्, ‘१६५ क्षेत्रबाटै युवा उठे। तर, म डडेल्धुराबाट हारे भने अन्य ठाउँबाट त जित्छन्, म हार्नु ठूलो कुरा होइन देशले जित्नु पर्छ। म देउवालाई हराउन आएको होइन्। ४०/५० देशलाई कसरी हाक्नु पर्दछ भन्ने भिजन ल्याएर आएको हुँ।’