श्रीमानको हत्या आरोपमा तीन महिलालाई मृत्युदण्ड

श्रीमानको हत्या आरोपमा तीन महिलालाई मृत्युदण्ड

एजेन्सी । इरानी अधिकारीहरूले आफ्ना पतिको हत्या गरेको आरोपमा बुधबार तीन महिलालाई मृत्युदण्ड दिएका छन्। मानव अधिकार परोपकारी संस्थाले यसबारे जानकारी दिएको छ।

इरानको मानव अधिकार समूहका अनुसार गत हप्ता मात्रै मृत्युदण्ड दिइएका ३२ जनामा यी पनि समावेश छन्। १५ वर्षको उमेरमा विवाह गरेकी बाल दुलहीलाई पनि श्रीमानको हत्या आरोपमा मृत्युदण्ड दिइएको छ। अधिकारीका अनुसार इरानमा मृत्युदण्डको दरमा उल्लेख्य वृद्धि भएको छ। गत वर्षको तुलनामा यस वर्ष हालसम्म दोब्बर मानिसलाई मृत्युदण्ड दिइसकिएको छ।

इरानले अन्य देशको तुलनामा धेरै महिलालाई मृत्युदण्ड दिने गरेको विभिन्न अधिकार समूहले बताउने गरेका छन्। तीमध्ये धेरैलाई श्रीमानको हत्यामा दोषी ठहर गरिएको छ। बुधबार, इरान मानव अधिकार समूहले सोहिला अबादीलाई जेल भित्र झुण्ड्याएको जानकारी दिएको छ। उनले १० वर्ष अघि आफू १५ वर्षको हुँदा श्रीमानलाई हत्या गरेको बताइन्छ।

सजाय सुनाएको अदालतले हत्याको कारण ‘पारिवारिक विवाद’ बताएको छ। बुधवार मृत्युदण्ड दिइएका अन्य दुई महिलालाई पनि आफ्ना श्रीमानको हत्या गरेको आरोपमा दोषी ठहर गरिएको थियो, उक्त समूहले बताएको छ।अधिकारकर्मीका अनुसार यीमध्ये धेरै मामिलाहरुमा घरेलु हिंसा देखिएको तर इरानी अदालले प्रायः यसलाई ध्यान नै दिँदैनन्।

इरानी अधिकारीहरूले मृत्युदण्ड दिइएका प्रत्येक मुद्दालाई आधिकारिक रूपमा घोषणा नगर्ने भएकाले मृत्युदण्डको संख्यामा सटीक तथ्याङ्कहरू उपलब्ध छैन। दुई अधिकार समूहद्वारा अप्रिलमा प्रकाशित एक अनुसन्धान अनुसार, गत वर्ष इरानमा दिइएको मृत्युदण्डमध्ये १६.५ प्रतिशत मात्रै आधिकारिक रुपमा सार्वजनिक गरिएको थियो।