सुदूर कोरोना संक्रमणदर दोब्बरले वृद्धि

सुदूर कोरोना संक्रमणदर दोब्बरले वृद्धि

धनगढी  ।  सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर दोब्बरले वृद्धि भएको छ । शुक्रबार १९ जनामा संक्रमण देखिएकोमा शनिबार एकैदिन ३२ जनामा संक्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसका साथै साउन महिनाको दुई साताको संक्रमणदर हेर्दा पनि पहिलोभन्दा दोस्रो साता दोब्बरले बढेको पाइएको छ । पहिलो साता ५६ जनामा संक्रमण देखिएकोमा दोस्रो साता थप ११३ जनामा संक्रमण पुष्टि भएको हो ।

भारतमा कोरोना संक्रमणदर नियमित रुपमा बढिरहेकोले सीमा जोडिएको यस प्रदेशमा संक्रमणदर बढ्दै गएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

दुई हप्ता अगाडि शून्यमा झरेको कोरोना संक्रमणदर हाल बढ्दै गएसँगै जोखिम बढेको हो। गत असार ३२ गते शून्यमा झरेको संक्रमणदर त्यसयता बढ्दै गएको छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म ५ लाख ५८ हजार ७४३ जनाको कोरोना परीक्षण गरिएकोमा ५९ हजार ८९९ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमणकै कारण यस प्रदेशमा ६३३ जनाको ज्यान गइसकेको छ ।