नागरिक उड्डयन प्राधिकरणले बढायो १६ प्रतिशत बढी आम्दानी

नागरिक उड्डयन प्राधिकरणले बढायो १६ प्रतिशत बढी आम्दानी

काठमाण्डौ रासस ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्षमा२०७८र७९ मा आम्दानी बढाएको छ । प्राधिकरणले यस आर्थिक वर्ष २०७८र७९ मा १६.६७ प्रतिशतले आम्दानी बढाएको हो । प्राधिकरणले विमानस्थल शुल्कको आम्दानीमा वृद्धि गर्दै त्यो वर्ष सात अर्ब ४४ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको हो ।

 अघिल्लो वर्ष प्राधिकरणले विमानस्थल शुल्कबापतको ल्यान्डिङ पार्किङ, नेभिगेशन, भाडा आदिबाट आम्दानी गर्न सफल भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन । उनका अनुसार प्राधिकरणले गएको वर्ष ६ अर्ब ६८ करोड २९ लाख रुपैयाँ आम्दानी प्रक्षेपण गरेकोमा सात अर्ब ४४ करोड ७१ लाख रुपैयाँ आम्दानी भएको छ ।

प्राधिकरणले अघिल्लो आर्थिक वर्ष जम्मा ४३ अर्ब ६७ करोड ७७ लाख बजेट विनियोजन गरेकोमा २१ अर्ब ३२ करोड एक लाख रुपैयाँ खर्च भएको जनाएको छ । यसमध्ये वित्तीय व्यवस्थापनमा सात अर्ब ५३ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएकोमा चार अर्ब ६९ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ । कार्यालय सञ्चालनतर्फ चार अर्ब १० करोड ८१ लाख विनियोजन भएकोमा तीन अर्ब २६ करोड २७ लाख रुपैयाँ खर्च भएको छ । प्राधिकरणले समग्रमा गएको आवमा ४८ दशमलव ८१ प्रतिशत वित्तीय प्रगति गरेको छ ।

प्राधिकरणले सार्वजनिक गरेको आव २०७९र८० को बजेट तथा कार्यक्रममा विमानस्थल पूर्वाधार विकास, विमानस्थल सञ्चालन, प्राधिकरणको संस्थागत सुधार, उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण, मानव संशाधन विकास र गैरउडान आय वृद्धिलाई प्राथमिकता दिएको छ ।

प्राधिकरणले चालु आव २०७९र८० का लागि ४१ अर्ब ८५ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अघिल्लो आव ४३ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । पर्यटन पुनरुत्थानका लागि प्राधिकरणले चालु आवभित्र गरिने कामको सुरुवात गरिसकेको जनाएको छ । त्यसका लागि नीतिगत सुधार, पूर्वाधार विकास, दक्ष जनशक्ति उत्पादन र उच्चतम प्रविधिको उपयोग गर्दै सेवालाई सुदृढीकरण बनाइनुका साथै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन व्यवस्थापन तथा सौन्दर्यकरणलगायत कार्य गरिने प्राधिकरणको बजेट तथा कार्यक्रममा उल्लेख छ ।