अमेरिकी सभामुख पेलोसी न्यान्सी ताइवानका राष्ट्रपति साइ यिङ वेन विच भेटवार्ता भएको छ। चीनको दबाबकाबीच ताइवान पुगेकी भेटमा पेलोसीले ताइनवानको नेतृत्व महिलाले गरेको भन्दै त्यसको प्रशंशा गरिन्।
त्यसअघि पेलोसीले ताइवानको संसदमा सम्बोधन गरेकी थिइन्। सम्बोधनका क्रममा पेलोसीले ताइवान विश्वकै स्वतन्त्र समाजमध्ये पर्ने उल्लेख गरेकी छन्। उनले अमेरिका र ताइवानबीचको संसदीय आदानप्रदान बढाउन चाहेको पनि बताइन।
पेलोसीले आगामी दिनमा अमेरिकाले ताइवानसँग विज्ञान प्रविधि तथा अनुसन्धानको क्षेत्रमा ठूलो लगानीको लागि सहकार्य गर्ने समेत बताएकी छन्। पेलोसीलाई संसदका उपराष्ट्रपति साई ची–चाङले स्वागत गरेका थिए।
यसैबीच, चीनको विदेश मन्त्रालयले बेइजिङस्थित अमेरिकी राजदूत निकोलश बन्र्सलाई बोलाएर पेलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ। चिनियाँ उप–विदेशमन्त्री से फेङले पेलोसीको ताइवान भ्रमणको प्रकृति खराब भएको भन्दै गम्भीर परिणामको चेतावनी दिएका छन्। उनले चीन चुप नबस्ने पनि बताएको अन्तर्राष्ट्रिय संचारमाध्यामले उल्लेख गरेका छन्। पेलोसीलाई स्वागत गरेको ताइवानमाथि चीनले संभावित बल प्रयोग गर्न सक्ने भन्दै सतर्कता अपनाइएको छ।
चीनको वाणिज्य मन्त्रालयले ताइवानबाट सिट्रस फल, दुई प्रकारका माछा र बालुवा आयातमा तत्काल प्रतिबन्ध लगाउने घोषणा गरेको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन्। यसअघि हिजो बिस्कुट र कन्फेक्सनरीसहित अन्य सामान आयातमा प्रतिबन्ध लगाएको थियो।