दार्चुलामा भीरबाट लडेर एक महिला बेपत्ता

दार्चुलामा भीरबाट लडेर एक महिला बेपत्ता

दार्चुला । दार्चुलामा एक महिला बेपत्ता भएकी छन् । नौगाड गाउँपालिका–१ साङपाङकी ३२ वर्षीया अनिता देवी ठगुन्ना घाँस काट्ने बेला भीरबाट लडेर तल खोलामा बेपत्ता भएकी हुन् । 
शुक्रवार बिहान ९ बजेतिर गोधानी स्थित अमिरगौणा जंगलमा घाँस काट्ने क्रममा ५ सय मिटर तल नौगाड खोलामा खसेर ठगुन्ना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिए । ठगुन्नालाई भीरबाट लडेको सँगै रहेका अन्य दुई स्थानीय महिलाले देखेका थिए । बेपत्ता महिलालाई खोज्न स्थानीय सँगै प्रहरी चौकी दल्लेखबाट प्रहरी टोली खटिएको छ । 
खोजी कार्य जारी रहेपनि अझै भेटाउन सकिएको छैन् । भीर ठूलो रहेको र त्यसको तल खोला रहेकाले ठगुन्नालाई खोलाले बगाएको हुन सक्ने अनुमान गरिएको छ ।