वाइवाइ चाउचाउले तौल घटायो, मूल्य बढायो

वाइवाइ चाउचाउले तौल घटायो, मूल्य बढायो

काठमाडौं । अहिले सबैको टाउको दुखाइको विषय हो, बढ्दो महँगी । तर, पछिल्ला दिनमा महँगी मात्रै बढेको छैन, बढेको मूल्यमा मालसामानका ‘प्याकेट’ हरू खुम्चिन थालेका छन् । यसको सुरुवात नेपालको सबैभन्दा बढी रुचाइने चाउचाउ ब्रान्ड ‘वाइवाइ’बाट भएको छ ।

पछिल्लो दुई महिनामा वाइवाइ चाउचाउले दुई पटक मूल्य बढाएको छ । वाइवाइले मूल्य मात्रै बढाएको छैन, चाउचाउको तौल घटाएर बजारमा पठाएको पाइएको छ ।

वाइवाइले पछिल्ला केही हप्तामै लगातार दुई पटक मूल्य बढाएको र एक पटक १० ग्राम तौल घटाएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

सार्वजनिक रुपमा वाइवाइले मूल्य बढाएको जानकारी दिएको छैन । तर, प्याकटेमा मूल्य बढ्ने र तौल घट्ने एकसाथ भएर आएकाले धेरै ग्राहकले आश्चर्य प्रकट गरेका छन् ।

‘बजारमा धेरै विक्री हुने ७५ ग्रामको वाइवाइ चिकेन र भेज स्वादको चाउचाउको मूल्य जेठ तेस्रो सातासम्म २० रुपैयाँ थियो,’ खुद्रा व्यापार संघका एक सदस्य भन्छन्, ‘अहिले उक्त चाउचाउको मूल्य २३ रुपैयाँ पुगेको छ भने तौल कहिले ६५ ग्राममा झरेको छ ।’

अझ रोचक त के छ भने ‘वाइवाइ’ले प्याकेटमा तौल ६० ग्राम मात्र तौल तोकेको छ । स्ट्यान्डर्ड नाप र तौल नियमावली २०७६ चाउचाउको प्याकेजिङ ७५ ग्रामबाट घटाउने हो भने ६० ग्राम कायम गर्नुपर्छ । तर, वाइवाइले चतुरतापूर्वक ५ ग्रामलाई ‘फ्रि’ ट्याग हालेको छ । अर्थात् अब वाइवाइले सित्तैमा दिइरहेको ५ ग्राम पनि जुनसुकै बेला घट्न सक्छ ।

वाइवाइले २० जेठपछि वाइवाइ चिकेन र भेजको मूल्य क्रमशः २० बाट २२ र १५ बाट २० रुपैयाँ पुर्‍याएको थियो । तर, साउन लागेपछि चिकेन स्वादको मूल्य पुनः २२ रुपैयाँबाट बढाएर २३ रुपैयाँ पुर्‍याएको हो ।

प्याकेटमा बढेको मूल्यसँगै वाइवाइले कार्टुनको पनि मूल्य बढेको छ । खुद्रा व्यापार संघकाअनुसार यसअघि एक कार्टुन वाइवाइ चिकेन चाउचाको मूल्य ५४० रुपैयाँ थियो । अब यस्तो चाउचाउको मूल्य प्रति कार्टुनको ५ सय ९५ रुपैयाँ पुगेको छ ।

वाइवाइले चिकेन पिज्जा र क्विक्सलाई २० रुपैयाँ र वाइवाइ जम्बोलाई २५ रुपैयाँ प्रतिगोटामा  विक्री गरिरहेको छ ।

चौधरी ग्रुपका प्रवक्ता तथा महाप्रबन्धक मधुसुदन पौडेलले मूल्य बढेको र तौल घटेको विषयमा जानकारी नभएको बताए । ‘एक हप्तादेखि बिदामा मुलुकबाहिर छु, यसबारे मलाई जानकारी छैन फर्किएपछि बुझ्ने प्रसार गर्छु,’ पौडेलले अनलाइनखबरसँगको अनलाइन कुराकानीमा भने ।

कुनै कम्पनीले मूल्य बढाएको र तौल घटाएको विषयमा जानकारी नहुने वाणिज्य विभागले जनाएको छ । विभागका महानिर्देशक लिलाप्रसाद शर्माका अनुसार बिस्कुट उद्योगीले महँगीअनुसार मूल्य बढाउन नपाए तौल घटाउने घुर्की लगाएका थिए । त्यसबाहेक अन्य कुनै सूचना विभागमा नभएको शर्माले बताए ।

मूल्य बढाउने र तौल घटाउनेबारे अनुमति लिनुपर्ने र यसबारे जानकारी दिनुपर्ने व्यवस्था नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उद्योग विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागहरुले जनाएका छन् । प्याकेटमा लेखिएको मूल्य र तौल फरक परेमा भने कारवाही हुन सक्ने विभागीय अधिकारीहरुको भनाइ छ ।

‘वाइवाइले नै मूल्य बढाएर तौल घटायो भनेपछि अब बजारमा यो ट्रेन्ड नै मौलाउँछ,’ नापतौल विभागका एक अधिकारी भन्छन्,’चुनाव लागेको छ, दलहरुलाई दिने चन्दा जोहो गर्ने सजिलो बाटो यही हो ।’