बैतडी । बैतडीमा चितुवाले घरपालुवा जनावर मार्न थालेपछि किसानहरु निरास बनेका छन ।जिल्लाको सिगास गाउँपालिकाका विभिन्न स्थानमा चितुवाले घरपालुवा जनावर मार्न थालेको छ।
चितुवाले बाख्रा, खसी लगायतका घरपालुवा जनावर खान थालेपछि व्यवसायिक बाख्रापालनमा लागेका किसानहरु समस्यामा परेका छन् । अहिले सम्म दुई सय ५० बढी बाख्रा चितुवाले खाइदिएको स्थानिय बोहराले बताए ।
बाख्रा, खसी लगायतका घरपालुवा जनावरलाई जंगलमा चराउन लगेका वेला चितुवाले मार्ने गरेको छ । गोठमै पसेर जंगल नजिकका बस्तीमा चितुवाले घरपालुवा जनावर खान थालेका किसानहरुले बताएका छन् । गएको ६ महिनायता पालिकाका विभिन्न स्थानमा चितुवाले आतंक मच्चाएको स्थानीय सूर्य बोहराले बताए ।
चितुवाको बासस्थान नष्ट हुनु, चितुवाको आहारा प्रजाति नष्ट हुनु लगायतका कारणले चितुवा मानवबस्तीमा पसेको हुन सक्ने जिल्ला डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए ।धेरैजसो ठाउँमा चितुवाले क्षति पुर्याएको उनले बताए ।