कोसी ब्यारेजका ५६ मध्ये ३३ ढोका खुला

कोसी ब्यारेजका ५६ मध्ये ३३ ढोका खुला

भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलिएका कारण उदयपुर, सुनसरी र सप्तरीको खेतीयोग्य जमिन र मानव बस्ती डुबानमा पर्ने गरेको छ।  सप्तकोसी नदीमा पानीको सतह बढ्दै गएपछि कोसी ब्यारेज ५६ मध्ये ३३ ढोका खुला गरिएको छ। शनिबार मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको हो।

शनिबार अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ। जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाले सप्तकोसीसँगै सहायक नदीहरूमा पनि पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोसी नदीको चतरामा जलसतह बढ्दो छ। यस्तै तमोर, सुनकोसी र अरुणमा पनि जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जानकारी दिएको छ। मध्याह्न १२ बजे कोसी ब्यारेज भएर दुई लाख दुई हजार चार सय ७५ क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको थियो। पानीको बहाव क्रमशः बढेसँगै ३३ ढोका खुला गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए।

सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरी प्रशासनले कोसी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।सप्तकोशीले पश्चिमतर्फ कटान गर्दा सुनसरी र उदयपुरको श्रीलंका टापू डुबानमा परेको छ भने सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढाको बस्ती डुबान भएसँगै विसं २०२३ मा स्थापित श्री शारदा आधारभूत विद्यालयसमेत कटान गरी बगाएको छ। विद्यालयसँगै रहेको स्वास्थ्यचौकी पनि कटानको जोखिममा छ। यस क्षेत्र अझै डुबानमा पर्ने भएकाले ब्यारेजका सबै ढोका खोल्न स्थानीयवासीले माग गरेका छन्।

पहाडी जिल्लाहरूमा अत्यधिक वर्षा भएको र सप्तकोसीमा जोडिने नदीहरूमा पानीको सतह अत्यधिक रहेकाले कोसीमा पानीको बहाव अस्वभाविक रूपमा बढ्ने अनुमान छ। कोसी नदीमा पानीको अत्यधिक बहाव हुनसक्ने जानकारीपछि कोसी ब्यारेजसहित कोसीको संरचनालाई निगरानी गरिरहेको सप्तरी प्रहरीले जनाएको छ।

सप्तकोसमा पुनः जलसतह बढ्न थालेकाले जलसतह सतर्कता आसपास पुग्न सक्ने र थप कटान हुनसक्ने भएकाले उदयपुर, सुनसरी र सप्तरीका तटीय क्षेत्रका बासिन्दामा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।