बैतडीमा मनोमानी भाडा असुल्दै  जीप व्यवसायी

बैतडीमा मनोमानी भाडा असुल्दै  जीप व्यवसायी

बैतडी ।  बैतडीमा जीप व्यवसायीहरुले मनोमानी भाडा असुल्न थालेका छन । कालोपत्रे सडकमै जीप व्यवसायीहरुले मनोमानी गरिकाले भाडा असुल्न थालेका हुन । गोठलापानी –झुलाघाट १९ किलोमिटर कालोपत्रे सडकमा जीप व्यवसायीहरुले २ सय ५० रुपैंया भाडा लिने गरेका छन । जहाँ स्थानीय सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने गरेका छन । जीप व्यवसायीले मनोमानी भाडा असुल्न थालेपछि यात्रु मारमा परेका छन ।

दशरथ चन्द नगरपालिका–४ की अञ्जली रानाले जीप व्यवसायीले चर्को भाडा लिन थालेको बताईन । उनले झुलाघाटबाट फर्किंदा बुड्डा, तिरखडेनी, अदरपिण्ड, बाराकोट, त्रिपुरालगायत ४÷५ किलोमिटरको दूरीमा रहेका ठाउँमा पनि गोठलापानी –झुलाघाट सरहकै भाडा लिने गरिएको बताईन ।

यस्तै जिल्लाको पाटन–मेलौली सडकखण्डमा पनि मनपरी भाडा असुल्ने गरिएको छ । पाटनदेखि मेलौली सम्म ३४ किलोमिटर पक्की सडक छ । तर मेलौली सम्म जिप व्यवसायीले ५ सयका दरले भाडा असुल्ने गरेका छन् । पहिला बार्गेनिङ मात्रै यात्रुहरुलाई बोक्ने गरिएको सञ्चारकर्मी लक्ष्मण बिसीले बताए । उनले भने ‘कम्तीमा ५ सय भाडा लिने गरेका छन् । त्यो भन्दा बढी असुल्न सके त्यो पनि गर्ने गरेका छन् ।’

यस्तै मेलौलीदेखि पञ्चेश्वर सम्मको २६ किलोमिटर सडकमा पनि मनपरी भाडा असुल गर्ने गरिएको छ । मेलौलीदेखि पञ्चेश्वरको ५ सय भाडा लिने गरिएको छ । यसरी पाटनदेखि पञ्चेश्वर सम्मको भाडा तराई पुग्ने भाडा भन्दा बढी असुल गर्ने गरिएको छ । धनगढी–बैतडी भाडा साढे ८ सय सम्म छ तर पाटनदेखि पञ्चेश्वरको भाडा एक हजार तिर्नुपरीरहेको छ ।

यस्तै ढोल्यामोडदेखि हाट सम्म १९ किलोमिटरमा ५ सय भाडा छ भने सतबाँझदेखि सुर्नयाको भाडा पनि ५ सय भाडा असुल्ने गरिएको छ ।
यस्तै, ३२ किलोमिटर लामो दशरथचन्द नगरपालिकाको देहिमाण्डौ–गिरेगडा सडकको भाडा ५ सय रुपैयाँ छ । इन्धनको मूल्य बढेको भन्दै सवारीधनीहरूले मनोमानी भाडा लिने गरेका दशरथ चन्द–९ की तारा जोशीले बताइन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले भने महंगो भाडाका बिषयमा गुनासो नआएको बताए । जिल्लामा भाडादर भन्दा बढी असुल गरेको पाइएमा कानुन अनुसार कारवाही हुने उनले बताए ।